काठमाडौं । हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेको थियो । बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै बुढानीलकण्ठस्थित घरबाट बरामद भएको नगद, मोबाइल र ल्यापटप लगाएका महत्त्वपूर्ण कागजात सार्वजनिक गरेको हो । सीआईबीका अनुसार बम्जनको घरबाट जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको छ ।
जसमध्ये २ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँबराबरका १७ देशका विदेशमी मुद्रा रहेको सीआईबीका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए । आफूलाई तपस्वी बताउँदै आएका बम्जन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । उनले प्रदेश—३—०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनर प्रयोग गर्दै आएका थिए ।
त्यस्तै उनले ल्यान्डक्रुजर—जेडएक्स किन्नका लागि ३ करोड रुपैयाँ सोरुमलाई बुझाइसकेको पनि सीआईबीले जनाएको छ । उनको प्रयोगका लागि धुम्बाराहीमा रहेको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडमा सेतो रङको ल्यान्डक्रुजर किन्नका लागि ५ करोडमा बुकिङ गरिएको थियो । उक्त गाडी ललितपुर महानगरपालिका वडा नं। २२ बुङमतीका ४५ वर्षीय पनित महर्जनको नाममा किन्न खोजिएको थियो । महर्जन बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष हुन् ।
त्यस्तै बम्जनले क्रसफायर, केटीएम ड्युक मोटरसाइकल र यामाहा रे जेडआर स्कुटरसमेत प्रयोग गर्ने गरेको खुलेको छ । रामबहादुर बम्जनलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको थियो । मंगलबार पनि सीआईबीले पक्राउ गर्ने बेलामा उनी झ्यालबाट हाम फालेर भाग्न खोजेका थिए ।
बम्जन आफू बस्दै आएको घरको चौथो तलाबाटै भिरालो जमिनमा हाम फाली भाग्ने क्रममा पक्राउ गरेको सीआईबीको दाबी छ । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदातले २०७६ साल माघ २३ गते नै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
बाराको निजगढ नगरपालिका वडा नम्बर १२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए । तर उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरीसमेत प्रहरीमा परेका छन् ।