काठमाडौं । ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा पक्राउ परेका दुई कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं प्रहरीले अनुसन्धानका क्रममा क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगानालाई पनि पक्राउ गरेको थियो । उनीहरुलाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर, ललितपुरले गरेको जबरजस्ती करणी सम्बन्धी एउटा अनुसन्धानका क्रममा एलओडीमा नाबालिगलाई प्रवेश गराएको खुलेको थियो । त्यसपछि दुई सञ्चालकलाई पक्राउ गरेर ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई जिम्मा लगाएको थियो ।
एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पहिल्यै हाजिरी जमानतमा छाडेको थियो । उनीहरुविरुद्ध मुद्दा दर्तासमेत भएको थिएन ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, ३१ जेठमा बिहान ३ बजे ललितपुर–४ स्थित डेरामा १५ वर्षीया किशोरी बलात्कृत भएकी थिइन् । त्यसबारे अनुसन्धानका गर्ने क्रममा उनलाई एलओडी क्लबबाट त्यहाँसम्म ल्याएर बलात्कार गरेको खुलेको थियो । त्यसक्रममा उनको उमेर १५ वर्ष ११ महिना ४ दिन देखिएपछि ललितपुर प्रहरीले नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा सञ्चालकमाथि पनि अनुसन्धान थालेको थियो ।