काठमाडौं । सहकारी रकम अपचलनको आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी छिन् । मोरङ जिल्ला अदालत स्रोतका अनुसार आज अदालत खुल्ने बित्तिकै उनी हाजिर भएकी हुन् ।
जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै बयान हुनेगरि पेशी तोकिएको छ । बयान सकिएपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्।