काठमाडौँ । स्रोतमा फोहोर छुट्टिन नसक्नु अस्पतालहरुको फोहोर व्यवस्थापनमा मुख्य चुनौती देखिएको छ । कुन फोहोर कुन रङ्ग भएको बाल्टिनमा हाल्ने हो, अस्पतालहरुले एउटै रङ्ग संकेत प्रयोग नगरेपछि विरामी र आफन्त झुक्किएर सामान्य फोहोर पनि संक्रमणयुक्त फोहोरको भाँडोमा राख्न सक्ने देखिएको छ । यसले सामान्य फोहोर पनि संक्रमित फोहोर बन्छ ।
छुट्टिएको फोहोर ढुवानी गरेर प्रशोधन तथा निर्मलीकरण गर्ने कक्षमा लैजाँदाको प्रक्रिया सुरक्षित छैन । निर्मलीकरणको प्रक्रियाबाट संक्रमणयुक्त फोहोर सामान्य भएको संकेतहरुको सही उपयोग देखिएन । माइती घर मण्डला नजिक रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालले उत्पादन गरेको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएका छन् । प्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम छ ।
वयोधा अस्पतालमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी रङ्ग संकेत हेरेर फोहोर राख्ने क्रममा आफैँ झुक्किए । अनुगमन टोलीकै अगाडि संक्रमित फोहोर हरियो बाल्टिनमा राखे । यस्तै संक्रमणयुक्त फोहोर अटोक्लेभ गर्नु अघि खन्याएर वर्गीकरण गर्ने गरिरहेका थिए । यस्तो फोहोर अटोक्लेभ गरेर संक्रमणमुक्त बनाएपछि मात्र वर्गीकरण गर्न सकिन्छ । अटोक्लेभ गरिएको फोहोर चिन्नका लागि संकेत चिन्हको प्रयोग गर्नुपर्छ । यस्तो भएको पाइएन । फोहोर भण्डारण गर्ने कक्ष फरक ठाउँमा छ । यो राम्रो पक्ष हो ।
यति भइकन पनि संक्रमणयुक्त र सामान्य फोहोर एकै ठाउँ राख्दा, फरक प्रकृतिको फोहोर चिन्नका लागि कुनै संकेत चिन्ह प्रयोग नहुँदा सामान्य फोहोर पनि संक्रमणयुक्त हुने जोखिम देखियो । अस्पतालका हाउस किपिङ् सुपरभाइजर विनिता खड्का भन्नुहुन्छ, ‘हाम्रोमा दैनिक ४० देखि ४५ किलोग्राम फोहोर उत्पादन हुन्छ । यसमा १० देखि १५ किलोसम्म संक्रमित भएको फोहोर आउँछ । संक्रमित फोहोर अटोक्लेभ गरेर अस्पतालजन्य फोहोर संकलन गर्नेलाई दिन्छौँ । सामान्य फोहोर नगरपालिकाको गाडीमा राखेर पठाउँछौँ ।’ यसमा अन्य प्रकृतिका फोहोरको मात्राको छुट्टै अभिलेख राखिएको छैन ।
अन्नपूर्ण न्युरोमा पनि सबै बाल्टिनमा सबै खालको फोहोर भेटियो । संकलित फोहोर ढुवानीमा अवलम्बन गर्नु पर्ने सुरक्षा विधिमा कमजोरी देखियो । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार ३० किलोको मात्र अटोक्लेभ मेसिन छ । अटोक्लेभ मेसिन राख्ने ठाउँ अव्यवस्थित छ । फोहोर वर्गीकरण र भण्डारण कक्ष व्यवस्थित देखिएन । ठाउँ साँधुरो छ । अस्पतालका नर्सिङ् प्रमुख रञ्जु देवकोटाका अनुसार दैनिक करिब १५ किलो कुहिने फोहोर, १० केजी कागज, ११ किलो प्लाष्टिक, २ केजी क्यान बोतल उत्पादन हुन्छ ।
यस्तै करिब ७ किलो संक्रमित फोहोर उत्पादन हुन्छ । यसरी उत्पादन हुने फोहोरमध्ये सुइ डेढ किलो, पिस्टन ३ किलो, एम्पुल डेढ किलो, रवर क्याप २ किलो, एल्मुनियम फोयल ३ सय ग्राम र अल्मुनियम कभर २ सय ग्राम उत्पादन हुन्छ । अस्पतालहरुको फार्मेसीबाट म्याद सकिएका औषधि कसरी व्यवस्थापन हुन्छ, शल्यक्रियाबाट उत्पादन भएको मानव अङ्गको व्यवस्थापन कसरी हुन्छ, प्रयोगशाला, शल्यक्रिया कक्षबाट उत्पादन भएको तरल फोहोरको व्यवस्थापन कसरी गरिन्छ जस्ता प्रश्नको उत्तर कमजोर छ ।