Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड


सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ७७ अर्ब ६१ करोड एक लाख रुपैयाँ पुगेको छ । उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौँथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा उल्लेख गरेको छ । बाँकी छ अर्ब ५५ करोड ४० लाख रुपैयाँ भने कोष मातहतका विभिन्न निकायमा लगानी रहेको विवरण पेश गरेको छ ।

सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब दस लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई उक्त रकमको ब्याजबाट शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराउँदै आईरहेको छ । कोषमार्फत् सञ्चालनमा रहेका ती कार्यक्रमलाई थप प्रभावकारी र प्रतिफलमूलक बनाउन समयानुकूल विस्तार तथा स्तरोन्नतिका कार्य भइरहेका छन् ।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत् प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो । ‘बहुजन हितायः बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाल, अवकाश प्राप्त सैनिक तथा आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत, बीमालगायत सीप तथा स्वरोगारजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । कोषको मुख्य आयस्रोत भनेको शान्ति सेनामा भाग लिएबापत् प्राप्त हुने रकम, बैँक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज रकम, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त शुल्क रहेको जनाएको छ ।

राष्ट्रसङ्घको आह्वानमा विश्वशान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेना व्यावसायिक, अनुशासित र सहासिक भएकैकारण द्वन्द्वग्रस्त मुलुकका नागरिकबीचमा लोकप्रिय छ । शान्ति सेनामा धेरै सङ्ख्यामा महिला सैनिक पठाउने सूचीमा भने नेपाल पहिलो नम्बरमै छ । हाल विश्वका १३ वटा शान्ति मिसनमा पाँच सय ६५ महिलासहित छ हजार ७३ जना नेपाली शान्ति सैनिक खटिएका छन् । हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४५ हजार आठ सय १३ नेपाली शान्ति सैनिकले योगदान पुर्याइसकेका छन् ।