काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले हरेक श्रमजीवी नागरिकको कोखदेखि शोकसम्म राज्यले नागरिकको सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीति गोष्ठीमा मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रमिकको मन्त्रालय भएको उल्लेख गर्दै श्रमसँग सम्बन्धित सबै समस्या सरोकारवालासँगको समन्वय र सहकार्यमा समाधान हुने बताए । उनले सरकार, रोजगारदाता र श्रमिकको सहभागिता हुँदा पनि सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
नेपालका लागि जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन ताकाहिरो तमुराले यस गोष्ठीले काम गर्ने वातावरण र स्वास्थ्य औद्योगिक सम्बन्धबारे सहभागीका ज्ञान तथा अनुभव बाँड्दै श्रम क्षेत्रका सरोकारवाला र रोजगारदाताबीच छलफल हुने विश्वास व्यक्त गरे ।
उनले नेपालमा काम गर्ने वातावरण र औद्योगिक सम्बन्धका चुनौती र सुधार गर्नुपर्ने विषयमा यो गोष्ठी सार्थक हुने बताए । जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ)का कार्यकारी निर्देशक तोशिरो मोटोबायशीले सन् १९८९ मा स्थापना भएपश्चात् विभिन्न देशमा कार्यक्रम गर्दै आएको बताए ।