काठमाडौं । लाजिम्पाटस्थित र्याडिसन होटलमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारका लागि जागरण अभियान सुरु गरेको संगठनले जनाएको छ ।
सन् २००६ देखि होटल तथा पर्यटन क्षेत्रका मजदुरहरुले पाउँदै आएको सेवा शुल्कलाई २०७९ माघ ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेदेखि संगठनले पुनः प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आइरहेको संगठनका इन्चार्ज माधव पाण्डेले बताए ।
पछिल्लो समय संगठनको नेतृत्वमा काठमाडौं उपत्यकाका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा जागरण अभियान चलाइरहँदा होटल र्याडिसनमा पनि मजदुरहरुले सो संघर्ष तथा जागरण अभियान सुरु गरेका छन् ।
र्याडिसनको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष कुमार पन्तले चैत १ बाट माइतीघरमण्डलामा हुने धर्ना कार्यक्रममा सबै मजदुरहरुलाई सहभागी हुन आह्वान गरेका छन् । उनले आन्दोलन सरकार वा होटल सञ्चालकहरुविरुद्ध नभई मजदुरहरुको गुमेको अधिकार पुनः स्थापित गर्न भएको प्रस्ट्याए ।