काठमाडौं, दसैं, तिहारलाई लक्षित गरेर भरतपुरमा पर्व विशेष मेला सञ्चालन गरिएको छ। मेलामा अहिले नेपालमा उत्पादन भएका जुत्ता, चप्पलका स्टलहरू राखिएका छन्। नेपाल जुत्ता घरसँगको सहकार्यमा चितवन उद्योग संघले आयोजना गरेको पर्व विशेष मेला गत बिहीबारदेखि सुरू भएको हो। स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरू एउटै छानामुनि उपलब्ध गराउने गरी मेला आयोजना गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए। मेलाको पहिलो चरणमा जुत्ता–चप्पलको प्रदर्शनी भएको हो।
असोज ३० गतेसम्म चल्ने जुत्ता, चप्पल प्रदर्शनीमा १३ वटा स्वदेशी ब्राण्डका स्टलहरू छन्। नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले स्वदेशी जुत्ता गुणस्तरको बारेमा उपभोक्तालाई जानकारी गराउने र विदेशी जुत्तालाई निरूत्साहित बनाउने उद्देश्य रहेको बताए। मेलाले देशमै रोजगारी सिर्जना, राजस्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिमा सहयोग पुर्याउने दाबी उपाध्यायको छ।मेलाको माध्यमबाट उत्पादक, उपभोक्ता र सरोकारवाला बीचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने तथा उत्पादनको बजारीकरण हुने विश्वास उनको छ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष रूद्रप्रसाद न्यौपानेकाअनुसार भारतबाट अनौपचारिक रूपमा नेपाल भित्रिने जुत्ता, चप्पलले नेपाली उत्पादनको बजार बिगारिरहेको छ। मेलाद्वारा ती जुत्ता, चप्पललाई निरूत्साहित गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गरिएको उनले बताए। नेपालमा अहिले साना, ठूला गरी १ हजार भन्दा बढी जुत्ता उद्योग छन्। करिब ३० वटा ब्राण्डहरू नेपालमा स्थापित भइसकेका छन्।
नेपालमा बर्सेनि १० करोड जोर जुत्ता, चप्पल खपत हुने गरेको तथ्यांक एसोसिएसनसँग छ। यसमध्ये करिब ६५ प्रतिशत स्वदेशी उत्पादन खपत हुन्छ। ३५ प्रतिशत विदेशी जुत्ता खपत हुने गरेकोमा करिब एक तिहाइ भारतबाट अवैधानिक रूपमा आउने गरेका छन्।नेपालमा उत्पादन भएका एक करोड जोर जुत्ता वार्षिक रूपमा निर्यात हुने गरेको व्यवसाले बताए। ‘नेपाली उद्योगहरूको उत्पादन क्षमता वर्षमा १४ करोड जोर जुत्ता, चप्पल उत्पादन गर्ने हो।
नेपाली जुत्ताको गुणस्तर बढाउँदै देशलाई आत्मनिर्भर बनाउन हामी लागिरहेका छौं। वैधानिक बाटोबाट आइरहेका जुत्तालाई यसवर्ष ५० प्रतिशतले कम गर्ने लक्ष्य रहेको उनले बताए।नेपाली जुत्ताको प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा प्रदर्शनी गर्ने काम भइरहेको छ।फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अर्का उपाध्यक्ष सुरज बन्जाडेले गुणस्तरीय र समय अनुसारको फेसनका जुत्ताहरू उत्पादन गरेर बिक्री गरिरहेको बताए।