काठमाडौं । वन तथा वातावरण मन्त्रालयले द एभरेस्ट होटलको ईआईए रिपोर्टमा राय सुझावका लागि आह्वान गरेको छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन नबुझाएका कारण पाँच तारे होटलको मान्यता नपाएपछि होटलले मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनका आधारमा मन्त्रालयले सुझाव माग गरेको हो । काठमाडौंको नयाँ बानेश्वरमा २०३८ सालदेखि सञ्चालनमा आएको यो होटलले ईआईए रिपोर्ट नबुझाएका कारण पर्यटन विभागको पाँच तारे होटलको सूचीमा अटाउन सकेको थिएन ।
यो होटल २०४२ सालदेखि पाँच तारे मान्यता प्राप्त थियो । २०७२ सालको भूकम्पले यो होटलको भवनमा धेरै क्षति गरेको थियो । त्यसपछि होटल बन्द भयो । मर्मतपछि १२ असोज २०७६ देखि एभरेस्ट होटल पुनः सञ्चालनमा आएको थियो । प्रतिवेदन अनुसार एभरेस्टले थप संरचना बनाउने कुनै योजना बनाएको छैन ।
यो होटल सञ्चालनमा आएको समयमा वातावरणीय अध्ययन गर्नुपर्ने प्रावधान थिएन । २०५३ सालमा भने वातावरण संरक्षण ऐन लागु भयो । जसले १ सय शय्याभन्दा बढी क्षमताका होटल र रिसोर्टलाई वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरियो । तर, २०५३ सालभन्दा पहिला नै सञ्चालनमा आएका संरचनालाई अनिवार्य थिएन । पर्यटन विभागले १० फागुन २०७४ मा सूचना प्रकाशित गर्दै अब नयाँ तथा पुराना सबै होटलका लागि ईआईए अनिवार्य गरियो । त्यसपछि भने पुराना होटलहरूले समेत ईआईए गर्नु परेको हो ।
एउटा भवन रहेको एभरेस्टमा १६० कोठा र २५२ वटा शय्या छन् । कुल १३ रोपनी ७ आना क्षेत्रफलमा फैलिएको यो होटलले प्रतिदिन २ लाख ७५ हजार लिटर भूमिगत पानी प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नियम अनुसार दैनिक २० हजार लिटरभन्दा बढी भूमिगत पानी प्रयोग गर्ने भवन निर्माण र सञ्चालन गर्दा ईआईए गर्नुपर्छ ।