काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जारी गरेको चालु आर्थिक वर्ष २०८०-८१ को प्रथम ३ महिनाको तथ्यांकमा अर्थतन्त्रका बाह्य परिसूचक बलियो देखाएको छ । अर्थतन्त्रका बाह्य परिसूचक बलियो अवस्थामा पुग्दा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको हो । असोज महिनामा आयात बढेसँगै सरकारको राजस्वमा वृद्धि भएको छ, भने निजी क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य रुपमा वृद्धि भएको छ ।
असोजको तथ्यांकले आन्तरिक अर्थतन्त्रका सुधारको संकेत देखिएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् । असोजमा १ खर्ब ४८ अर्बभन्दा बढीको आयात भएको छ । यो कुनै एक महिनामा भएको आयात १५ महिना यताकै उच्च हो । २०७९ असारमा १ खर्ब ५७ अर्ब भन्दा बढीको आयात भएको थियो । गत आर्थिक वर्षको कुनै पनि महिनामा आयातले उक्त तथ्यांक पार गर्न सकेन । यो आर्थिक वर्षमा दशैं र तिहारको मुखमा असोजमा १ खर्ब ४८ अर्बको आयात भयो ।
तर, नेपाली अर्थतन्त्रको संरचना नै आयातमा आधारित भएकाले आन्तरिक आर्थिक गतिविधि बढ्न मात्र होइन, सरकारको राजस्व समेत आयातमै निर्भर छ । आयातमा कडाइ गरेका कारण आर्थिक वर्ष २०७९-८० मा अघिल्लो आवको तुलनामा राजस्व घट्यो । आयात खुकुलो बनाउँदा पनि चालु आर्थिक वर्षको साउन र भदौमा राजस्व बढ्न सकेन, बरु गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको थियो ।
असोजमा भने गत वर्षको तुलनामा राजस्व भएको छ । गत आर्थिक वर्ष २०७९-८० को प्रथम त्रैमासमा राजस्वमा अघिल्लो वर्षको तुलनामा १८.२ प्रतिशतले गिरावट आएको थियो । तर, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सरकारको राजस्व ५ प्रतिशतले वृद्धि भएर २ खर्ब १९ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ऋणात्मक वृद्धि भएको सरकारको राजस्व असोजमा ५ प्रतिशतको वृद्धि हुनु सकारत्मक संकेत भएको आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ बताउँछन् ।
निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि असोजमा उल्लेख्य रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १ खर्ब ९ अर्ब ३ करोडले बढेको छ । जुन गत असार मसान्तको तुलनामा २।३ प्रतिशतले वृद्धि भएको हो । गत अर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा ५९ अर्ब ११ करोड मात्रै बढेको थियो । यद्यपि यो अवधिमा दशैं र तिहार जस्ता ठुला चाडपर्व परेकाले अहिले देखिएको सुधारले भोलिका दिनमा निररन्तता पाउनेमा भने शंका छ ।