काठमाडौं । इजरायल हमलापछि त्रासमा रहेका नेपाली विद्यार्थीहरुलाई सरकारले आज नेपाल ल्याउने भएको छ । नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बिहान २ः३० बजे गएका छन् ।
उनीहरूलाई लिएर जहाज आजै बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २ सय ५४ जना विद्यार्थी फर्काउन लागिएको हो । स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने मन्त्रालयको भनाई छ । त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको थियो । नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो । त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताइन ।
प्रवक्ता लम्सालका अनुसार हाल इजरायलमा २६२ जना विद्यार्थीसहित चार हजार पाँच सय घरेलु श्रमिक कार्यरत छन् । नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका हुन् । यसरी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुजमा रहेका थिए । त्यसमध्ये १० जनाको निधन भएको हो ।