Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मिटर ब्याज सम्बन्धी उजुरी परेका ६५ जना फरार सूचीमा,१६७ उजुरी छलफलबाटै फर्छ्यौट


मिटर ब्याज सम्बन्धी उजुरी परेका ६५ जना फरार सूचीमा,१६७ उजुरी छलफलबाटै फर्छ्यौट

काठमाडौं । सर्लाहीमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी उजुरीका ६५ जना फरार सूचीमा परेका छन् । छलफलका लागि सम्पर्कमा नआएपछि उनीहरू फरार सूचीमा परेका हुन् । सर्लाहीमा १७ पालिका छन् । ती सबै पालिकाबाट मिटर ब्याज सम्बन्धी २८६ उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।

जसमध्ये १६७ उजुरी छलफलबाटै फर्छ्यौट भएको छ । कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको छ । उजुरी फर्छ्यौट गर्न पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयले बोलाउँछ । तर छलफलमा बोलाउँदा पटक पटक नआएपछि ६५ जनालाई फरार सूचीमा राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।

छलफलमा बोलाउँदा उपस्थित नहुनेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिल्यै चेतावनी दिएको थियो । सो बमोजिम ६५ जनालाई कारबाहीमा पर्ने देखिएको छ । उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई समेत पत्राचार भइसकेको स्रोतले जनाएको छ ।

सहायक प्रजिअ घिमिरेका अनुसार ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी छ । परेको उजुरीमध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल गराइएको छैन । मिटर ब्याज सम्बन्धी उजुरी दिएकै कारण सर्लाहीका एक पीडितलाई पीडकले दाबी गरेको भन्दा ५ लाख कम तिर्नुपरेको छ ।