Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाःशेयर धितो कर्जाको जोखिम भार घट्यो, पूँजी बजारमैत्री नीतिको सङ्केत


मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाःशेयर धितो कर्जाको जोखिम भार घट्यो, पूँजी बजारमैत्री नीतिको सङ्केत

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा जोखिम भार घटाएको छ । ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारिएको हो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो ।

राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो । नयाँ समीक्षाले पूँजी बजारमैत्री नीतिको सङ्केत गरेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार क्षमतामा समेत यसले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

समीक्षामा वित्तीय क्षेत्रको सुदृढीकरण, मुद्रास्फीति नियन्त्रण, लगानी प्रवाह विस्तार, चालू खाता घाटा नियन्त्रण र रेमिट्यान्स वृद्धिका आधारमा केही सकारात्मक संकेतहरू देखिएका उल्लेख छ । तर निजी क्षेत्रको कर्जा प्रवाह अपेक्षित दरमा नबढ्नु, सरकारी पूँजी खर्चको धीमा गति, आयात निर्यातमा असन्तुलन तथा औद्योगिक उत्पादनको स्थायित्वमा चुनौती रहेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

समीक्षामार्फत राष्ट्र बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान गरेको छ । ‘मुद्रास्फीति लक्षित सीमाभन्दा कम रहेको छ ।

तसर्थ, आर्थिक गतिविधिमा आएको सुधारलाई दिगो बनाउन सहयोग पुग्ने गरी आन्तरिक मागको व्यवस्थापन हुन सकेमा मात्र आर्थिक तथा वित्तीय सन्तुलन कायम राख्न र ब्याजदरमा आउने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सम्भव हुन्छ,’ मौद्रिक नीति समीक्षामा उल्लेख छ ।