काठमाडौं । कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले करिब दुई महिनाको अबधिमा २५ सय १० जना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले आज एक विज्ञप्ती जारी गर्दै आर्थिक तरलता र सहकारी संस्थामाथिको आक्रमणकाबीच पनि करिब २ हजार ५ सय १० जनाको रकम फिर्ता गरेको बताएका हुन ।
उनले सहकारी संस्थाले बचत फिर्ताकालागि बनाएको कार्ययोजना अनुसार ५०० देखि ५००० सम्मका साना बचतकर्ताको रकम फिर्तागरि खाता बन्द गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो समय दर्शन साकोसका विरुद्धमा जारी विभिन्न आन्दोलन, धर्ना, कर्मचारीमाथि दुब्र्यवहार, अपहरण, कार्यालय तोडफोड, सञ्चालकको घरमा आगजनी जस्ता घृणित कार्यका बीच पनि बचतफिर्तालाई निरन्तरता दिएका छौं’ । अध्यक्ष दर्शनधारीले बचत फिर्ताका लागि सहयोग र सहजिकरण गरिदिने सबैमा धन्यवाद दिएका छन् ।
अध्यक्ष दर्शनधारीले सहकारीको ऋण लिएर तिर्न नसकेका ऋणीहरुबाट उनीहरुको भौतिक सम्पत्ति (जस्तै घर जग्गा)बाटै असुलीका लागि पहल अघि बढेकाले इच्छुक कुनैपनि बचतकर्ताले सम्पर्क गरि आफ्नो बचतफिर्ता लिन सक्ने बताएका छन् । साथै, दर्शन साकोसका कुनै पनि सञ्चालकको कार्ययोजनामा उल्लेख भएको सम्पत्ति सञ्चालकका नजिकका आफन्त र साथीभाई समेतले सम्पत्ति दिन तयार रहेको भन्दै ईच्छुक बचत कर्ता सदस्यहरुले आफुलाई चित्त बुझ्ने र बजार अनुकुल दररेटमा सम्पत्तिबाट आफ्नो बचत असुल गर्न सकिने विज्ञप्तीमा उल्लेख छ । सहकारीले यसरी बचतकर्ताको रकम फिर्ता गर्न सकिए तीन बर्षे योजनालाई घटाउदै छोटो समय भित्र नै बचत फिर्ता गरि शुन्यमा झार्न सकिने उल्लेख गरेको छ ।