काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । ३७ अर्ब ७३ करोडमा ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । जसमा ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो ।
कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल जारी गर्न लागेको हो । जेठ ८ गते जारी हुने यस ट्रेजरी बिलका लागि जेठ ७ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ ।
२८ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असार ५ गते परिपक्व हुनेछ । साथै, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी साउन ४ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।