काठमाडौं । महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ ।
कामपाद्वारा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डंगोलगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो ।
लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।
खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएको कामपाले जनाएको छ । सम्मानित व्यक्तित्वलाई नगद रु एक लाख ५० हजारसहित पुरस्कार प्रदान गरिएको हो ।
समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर संकलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो ।