काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने उल्लेख छ ।
जसअनुसार ७ अर्ब रुपैयाँको १ सय ८२ दिने, ५ अर्ब रुपैयाँको ३ सय ६४ दिने ट्रेजरी बिलका लागि बोलकबोल मागिएको छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आज सोमबार (माघ २१ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । माघ २२ गते मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ ।
पछिल्लो पटकको ट्रेजरी बिलको बोलकबोलमा ९१ दिनेमा ३.२२ प्रतिशत, १८२ दिनेमा ३.५५ प्रतिशत र ३६४ दिनेमा ४.८१ भारित औसत ब्याजदर तय भएको छ ।
राष्ट्र बैंकले यसअघि आन्तरिक ऋण संकलन गरेकोमध्ये परिपक्व अवधि पुगेका ट्रेजरी बिल पुनः विक्री गरिरहेको छ । सोही क्रममा सरकारले केही ट्रेजरी बिलको पैसा भुक्तानी गरेको छ भने केहीको पुनः बिक्री गरिएको हो ।