Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नवीकरणविनै सञ्चालनमा रहेका तीन वटा पाँचतारे होटलको सेवा बन्द


नवीकरणविनै सञ्चालनमा रहेका तीन वटा पाँचतारे होटलको सेवा बन्द

काठमाडौं । नेपालमा खुलेका पाँचतारे होटलमध्ये तीन वटा पाँचतारे होटलको सेवा बन्द भएको छ । पर्यटन विभागका अनुसार अहिले पोखरास्थित होटल द फूलबारी लिमिटेड, काठमाडौंको लाजिम्पाटस्थित होटल साङ्ग्रिला र दरबारमार्गस्थित होटल डेला अन्नपूर्णको सेवा अहिले बन्द भएको हो । विभागका निर्देशक तथा प्रवक्ता कालीबहादुर भुजेलका अनुसार यी होटल आन्तरिक कारणले बन्द भएका हुन् ।

यसमध्ये अन्नपूर्ण होटलको नवीकरणको अवधि बाँकी रहेका कारण उसको कानुनी हैसियत बाँकी छ । साविकमा अन्नपूर्ण होटल रहेको स्थानमा ६ अर्ब रुपैयाँ लगानीमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरिएको छ । जसमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले लगानी गर्दैछन् । यो स्थानमा २०८५ सालदेखि नयाँ होटल सञ्चालनको योजना छ ।

फूलबारी र साङ्ग्रिला बन्द भएका कारण यी होटलले पाँचतारेको हैसियतमा कानुनी मान्यता नपाउने भुजेलले जानकारी दिए । कोभिड महामारीको संकटयता उठ्न नसकेका कतिपय होटलहरूले अझै सेवा सुरु गर्न सकेका छैनन् ।

उता सञ्चालनमा रहेका मध्ये पनि तीन पाँचतारे होटलको इजाजत नवीकरण नभएको विभागले जानकारी दिएको छ । विभागका अनुसार नयाँ बानेश्वरस्थित एभरेस्ट होटल, दरवारमार्गस्थित याक एन्ड यति र लाजिम्पाटस्थित र्‍याडिसन होटलले इजाजत नवीकरण गरेका छैनन् । होटलहरू कुनै सरकारी निकायमा दर्ता भएपछि सञ्चालनमा आउन पाउँछन् । तर, पर्यटन विभागबाट स्तर वर्गीकरणको इजाजत नलिएसम्म उनीहरूको स्तरले कानुनी मान्यता पाउँदैन । एभरेस्टसहित तीन होटल सोही अनुसार चलिरहेको निर्देशक भुजेलले जानकारी दिए । सेवा बन्द भएको र इजाजत नवीकरण नभएका होटलले कानुनी रूपमा पाँचतारे मान्यता नपाउँदा अहिले देशभर मान्यताप्राप्त पाँचतारे होटलको संख्या १७ मात्र हुन आउँछ ।

होटलको इजाजत हरेक ५/५ वर्षमा नवीकरण गर्नुपर्छ । सरकारले नवीकरणका दौरान बक्यौता फरफारक अनिवार्य गरेसँगै होटलहरूको नवीकरण रोकिएको छ ।