एजेन्सी । अमेरिकी साहित्यकार जर्ज आरआर मार्टिनसहित जन ग्रिसम लगायतले च्याटजीपीटी निर्माता ओपनएआईविरुद्ध मुद्दा हाल्ने भएका छन् । च्याटजीपीटी बनाउँदा त्यसलाई तालिम दिन आफूहरूका कृति अनुमतिबेगर प्रयोग गरेको भन्दै लेखकहरूले कानुनी उपचार खोजेका हुन् । मार्टिनको स्वेरकाल्पनिक पुस्तक श्रृंखला ’अ सङ अफ आइस एन्ड फायर’ मा आधारित भएर बनेको ’अ गेम अफ थ्रोन्स’ हालसम्मकै सबैभन्दा लोकप्रिय टेलिभिजन सोमध्ये एक रहिआएको छ ।
च्याटजीपीटी र अन्य लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम)हरूलाई अनलाइनमा उपलब्ध विभिन्न कृतिहरूमा पहुँच दिलाएर ’स्मार्ट’ बनाउने गरिएको छ । बीबीसीका अनुसार दायर मुद्दामा लेखकहरूको अनुमतिबेगर नै च्याटजीपीटीलाई स्मार्ट बनाउन उनीहरूको पुस्तक प्रयोग गरिएको भन्ने व्यहोरा उल्लेख छ । ओपनएआईले भने लेखकहरूको अधिकारको सम्मान गरेको र ’आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिबाट लेखकहरूले पनि लाभ उठाउन सक्ने’ प्रतिकृया दिएको छ ।
मुद्दा हाल्ने अन्य लेखकहरूमा जनाथन फ्रान्जेन, जोडी पिकल्ट र जर्ज साउन्डर्ससमेत रहेका छन् । अमेरिकी लेखकहरूको पक्षमा काम गर्ने त्यहाँका लेखकहरूको ट्रेड समूह अथर्स गिल्डले सो मुद्दा न्यूयोर्कको म्यानहट्टनस्थित संघीय अदालतमा दायर गरेको छ । उक्त्त मुद्दामा ओपनएआईलाई ’बृहत् परिणाममा भएको संगठित चोरी’को आरोप लगाइएको छ । यसअघि हास्यव्यंग्य कलाकार सारा सिल्भरम्यानले पनि एआई कम्पनीहरूले आफूहरूका काम प्रयोग गरेवापत क्षतिपूर्ति दिनुपर्ने मागसहित यस्तै कानुनी पहल थालेकी थिइन् ।
’विश्वभरका लेखक तथा रचनाकारहरूसँग हामीले सकारात्मक संवाद गरिरहेका छौं,’ ओपनएआईका प्रवक्त्तालाई उदृत गर्दै बीबीसीले लेखेको छ, ’एआईलाई लिएर उहाँहरूका चासो र चिन्ताबारे हामी बुझ्दै र छलफल गर्दै छौं । हामीबीचको सहकार्यका लागि पारस्परिक लाभका उपायहरू पत्ता लगाउने विषयमा हामी आशावादी छौं ।’