Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदूरपश्चिम प्रदेश: विद्युतीय सवारी साधनमा कर


सुदूरपश्चिम प्रदेश: विद्युतीय सवारी साधनमा कर

सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक विद्युतीय सवारी साधनमा कर लगाएको छ । प्रदेश सरकारले आर्थिक ऐन २०७९ लाई संशोधन गरेर विद्युतबाट चल्ने सवारी साधनमा कर लगाएको हो । विद्युतीय सवारी साधनबाट कर सङ्कलनका लागि प्रदेश सरकारले आइतबारमात्रै सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । 

प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको अवस्थामा त्यसलाई करको दायरामा ल्याउने र उचित व्यवस्थापन गर्ने उद्देश्यका साथ ऐन बनाइएको हो । अब डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनको जस्तै विद्युतीय सवारी साधनको पनि कर तिर्नु पर्ने भएको छ । 

सरकारले विद्युतबाट चल्ने मोटरसाइकल/स्कुटरमा वाटको आधारमा करको दर तय गरेको छ । पाँच सय वाटसम्मको वार्षिक एक हजार, पाँच सय एक वाट भन्दामाथि एक हजार वाटसम्मको एक हजार पाँच सय, एक हजार एकदेखि एक हजार पाँच सय वाटसम्मको दुई हजार र एक हजार पाँच सय एक वाटभन्दा माथि सबै दुई पाङ्ग्रे सवारी साधनको तीन हजारसम्म वार्षिक कर तोकिएको छ । 

यस्तै, कार, जिप, भ्यान र माइक्रोबसका लागि किलोवाट अनुसार करको दर तोकिएको छ । ४९ किलोवाटसम्मको गाडीको वार्षिक कर १० हजार, ४९ किलोवाट भन्दामाथि एक सय २५ किलोवाटसम्मको गाडीको १५ हजार रुपियाँ कर तोकिएको छ । 

यसैगरी, एक सय २५ किलोवाट भन्दामाथि दुई सय २५ किलोवाटसम्मको गाडीको वार्षिक कर २० हजार रुपियाँ र दुई सय २५ किलोवाट भन्दामाथि सबै खाले गाडीको वार्षिक कर ३० हजार रुपियाँ निर्धारण गरिएको छ । 

सार्वजनिक विद्युतीय सवारी साधनहरूको कर भने निजीभन्दा केही कम रहेको छ । ४९, एक सय २५ किलोवाटसम्म, दुई सय २५ किलोवाटसम्म र दुई सय २५ किलोवाटभन्दा माथिको गाडीमा क्रमशः दुई हजार पाँच सय, चार हजार पाँच सय, १० हजार र १५ हजार रुपियाँ वार्षिक करको दर तोकिएको छ । 

पेट्रोलियम पदार्थ बाहेक अन्य इन्धनद्वारा सञ्चालन हुने सवारी साधनमा प्रचलित कानुन बमोजिम लाग्ने सवारी साधन करमा २० प्रतिशत छुट हुने आर्थिक मामिला योजना मन्त्रालयले जानकारी दिएको छ ।