चितवन । आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । भ्रमण वर्षको शुभारम्भ हुन तीन महिनाको अवधि बाँकी रहेकाले तयारी पनि तीव्र गतिमा भैरहेको छ । भ्रमण वर्षको अवसरमा भरतपुर १ आँपटारीमा रहेको दियालो बंगला दरवार खुलाउने र ठोरीस्थित छोटी भन्सार नाका सन्चालमा ल्याउने लागिरहेको महानगरले जनाएको छ ।
महानगरले भरतपुर नगर क्षेत्रका ३० वटा पर्यटकीय गन्तव्य र ७ वटा प्रमुख गन्तव्यहरुलाई प्राथमिकतामा राखेर प्रचार प्रसार, पूर्वाधार निर्माण र प्रवर्द्धनका कामहरू अगाडि बढाएको छ । भ्रमण वर्षमा कम्तीमा २ लाख विदेशी पर्यटक भरतपुर ल्याउने लक्ष्य महानगरको रहेको बताउँदै महानगरका पर्यटनविज्ञ विश्व सुवेदीले यसका लागि वर्षभरी गर्ने क्रियाकलापहरुको क्यालेण्डर नै प्रकाशन गर्ने तयारी गरिएको जानकारी दिए ।
महानगरले भरतपुर भ्रमण वर्षमा भरतपुर १ आँपटारीमा नारायणी नदी किनारमा रहेको दियालो बंगला दरवारलाई खुला गर्न माग गरेको छ । महानगरले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत नेपाल ट्रष्ट कार्यालयमा दरवार अवलोकनका लागि खुला गर्न आवश्यक सहयोग गरिदिन भनेर पत्राचारसमेत गरेको छ ।