काठमाडौं, भारतको डे अहेड बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भएको छ। भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थातः १६ रुपैयाँ प्रतियुनिट मूल्यमा बिजुली बिक्री भइरहेको हो। भारतीय बजारमा २४ घण्टालाई १५,१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गर्छ। तर, मंगलबार भने ९६ वटा नै ब्ल्कमा प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थात १६ रुपैयाँमा बिक्री भइरहेको छ।
रुस–युक्रेन युद्धको समयमा कोइला आयातमा समस्या आएपछि विद्युतको मूल्य आकाशिएको थियो। करिब दुई वर्षअघि भारतले आईएक्स बजारलाई नियमन गरी विद्युत् खरिद बिक्रीको अधिकतम दर प्रतियुनिट १२ भारतीय रुपैयाँ तोकिएको छ। पछिल्लो समय भारतको टिस्टा नदीमा रहेको जलविद्युत् परियोजनाहरुमा बाढीले क्षति पुग्दा भारतमा विद्युतको उत्पादन घटेको छ। सोहीकारण माग अनुसार विद्युत् बिक्रीकर्ताले प्रस्ताव पेश गर्न नसक्दा नेपालको बिजुलीले राम्रो मूल्य पाएको हो। सामान्य अवस्थामा नेपालको बिजुलीको मूल्य प्रतियुनिट ५ देखि ८ रुपैयाँ भारुको बीचमा रहने गरेको छ।
आईएक्सको रियल टाइम मार्केटमा समेत आज भारु प्रतियुनिट १० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज आईएक्सको रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न यसै महिना अनुमति पाएको थियो। भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि डे अहेड बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अहिले सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न सक्छ।
भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयात निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनद्वारा छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो । प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनद्वारा हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।
यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।प्राधिकरणले चालू आर्थिक वर्ष आव २०८०,८१ को साउन र भदौमा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ।