काठमाडौं । वृन्दावन नगरपालिकाकी उपप्रमुख संगीताकुमारी राम नियमित कार्यालय जान छाडेको झन्डै एक वर्ष पुग्न लागेको छ । नगरप्रमुख विनोदप्रसाद कुर्मीका कारण कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको उनको आरोप छ । उनीहरूबीच एक वर्षदेखि बोलचाल पनि छैन । गत स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीबाट प्रमुख–उपप्रमुखमा निर्वाचित कुर्मी र रामबीच सुरुआतमा सबै ठिकै चलेको थियो ।
दुवैले मिलेर काम गरिरहेका थिए । पालिकाका ९ वडामध्ये ५ मा उनीहरूकै पार्टीबाट निर्वाचित वडाध्यक्ष छन् । नगरप्रमुख कुर्मी एकलौटी ढंगले हिँड्न थाल्दा आफूले प्रतिवाद गरे पनि सुनुवाइ नभएको उपप्रमुख रामले सुनाइन् । सहमति र छलफलबिना आफ्नो अनुकूलता हेरेर नगरप्रमुख कुर्मीले गत असार १० मा नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रामले बहिष्कार गरिन् । सभामा केहीबेर होहल्ला र तनाव सिर्जना भयो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सभा सम्पन्न भयो । नगरप्रमुख कुर्मीविरुद्ध आफ्नै पार्टीबाट निर्वाचित ७ नम्बरका वडाध्यक्ष मदन पाल पनि विरोधमा छन् । उपप्रमुखको नगरप्रमुखसँग खटपट देखिएपछि न्यायिक समितिका सबै काम पूर्णरूपले प्रभावित बनेका छन् ।
समितिमा कानुनी सल्लाहकार, दर्ता चलानी गर्ने कर्मचारीसमेत नभएको उपप्रमुख रामको गुनासो छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई समेत नगरप्रमुखबाट भइरहेको असहयोगबारे जानकारी गराएको उनले बताइन् । नगरप्रमुख कुर्मीले आफ्नै घरनजिकको हरसाह चोकमा पालिकाको सम्पर्क कार्यालय खोलेका छन् । नगरको काम त्यहींबाट गर्न थालेपछि दुवैबीच झनै दूरी बढेको हो । प्रमुख–उपप्रमुख विवादले वृन्दावनमा अपांगता परिचयपत्र वितरणलगायत समस्या समाधान गर्न बन्न लागेको कार्यविधि रोकिएको छ ।
गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीको अवस्था पनि फरक छैन । नगरप्रमुख कन्थमणि जैसवालले एकलौटी गरी आफ्नो अधिकार खोसेको भन्दै उनी विरोधमा छिन् । उनले पनि गत असार १० मा नगरसभा बहिष्कार गरिन् । केही वडाध्यक्षलाई साथ लिएर कार्यालयको गेटमा धर्ना बसिन् । पालिकाभित्र भएका निर्माणका कामको अनुगमन समिति संयोजकको जिम्मेवारी उपप्रमुखलाई दिइएको छ । तर नगरप्रमुख आफैं अनुगमनमा हिँड्न थालेपछि वृन्दावन र गरुडामा बोलचाल बन्द हुने गरी सम्बन्ध चिसिएको हो ।
रौतहटका १६ नगरपालिका र २ गाउँपालिकामध्ये धेरैजसो पालिकामा अघिल्लो पटकका जनप्रतिनिधिको कार्यकाल पनि विवादमै बितेको थियो । यमुनामाई गाउँपालिका, गजुरा, राजदेवी, कटहरिया, गरुडा नगरपालिकालगायत स्थानीय तहमा प्रमुख–उपप्रमुखबीचको विवादले हातपात, तोडफोड, तालाबन्दी तथा मुद्दा मामिलासम्मका घटना भएका थिए । वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा दुई जना हाजिर भएपछि कर्मचारी र जनप्रतिनिधि अन्योलमा परेका छन् ।
गत साता एक जनालाई नगरप्रमुख र अर्कालाई उपप्रमुखले हाजिर गराएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एउटै पदमा दुई अधिकृतलाई जिम्मेवारी तोकेर पठाएपछि यहाँ विवाद देखिएको छ । मन्त्रालयका उपसचिव सुरेन्द्र प्रधान र नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रासनारायण पटेलले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । दुवैले गत बिहीबार नगरपालिकामा हाजिर गरेका थिए ।
पटेलले नगरप्रमुख विनोदप्रसाद कुर्मी र प्रधानले उपप्रमुख संगीताकुमारी रामको रोहबरमा हाजिर गरेका हुन् । पटेलले कोष तथा नियन्त्रण कार्यालयबाट खाता सञ्चालनको अनुमति लिएर दसैंअघि कर्मचारीलाई तलबसमेत खुवाएका छन् । मन्त्रालयले कात्तिक १ गते प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि नगरपालिकामै कार्यरत ‘नेपाल स्वास्थ्य सेवा, हेल्थ इस्पेक्सन समूह अधिकृतस्तर छैटौं तह’ का पटेललाई जिम्मेवारी तोकेको छ ।
पटेललाई मन्त्रालयका शाखा अधिकृत जयराम गजुरेलको हस्ताक्षर गरेको पत्र थमाइएको छ । प्रधानलाई आर्थिक र प्रशासनिक कार्य गर्ने गरी असोज २६ मै मन्त्रालयका शाखा अधिकृत विकास सुन्दासले हस्ताक्षर गरेको पत्रबाट जिम्मेवारी दिइएको छ । पटेलका नाममा खाता सञ्चालन भएपछि अर्का अधिकृत प्रधान कोष तथा लेखा नियन्त्रण कार्यालय पुगेका थिए । यहीबीच गत शुक्रबार गौरमा नगरप्रमुख कुर्मी र उपप्रमुख राम पक्षबीच विवादसमेत भएको थियो । जिल्ला प्रहरी अगाडि दुवै पक्षबीच हात हालाहाल भएको थियो ।