Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महासंघ अध्यक्ष ढकालले बेलायती लगानी कर्तालाई भनेः बहुपक्षीय र द्विपक्षीय विकास साझेदार गरौं


महासंघ अध्यक्ष ढकालले बेलायती लगानी कर्तालाई भनेः बहुपक्षीय र द्विपक्षीय विकास साझेदार गरौं

काठमाडौं । नेपालको ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरू साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।

बेलायतको लन्डनमा मंगलबार आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाहृय पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानी अवसर रहेको बताए ।

नेपालबाट आयात हुने जलविद्युत्‌लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयलाई उल्लेख गर्दै अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराएका थिए । अर्को छिमेकी मुलुक बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्‌का लागि थप बजार सिर्जना भएको पनि अध्यक्ष ढकालले बताए । नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए ।

‘काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको छ,’ उनले भने, ‘बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेलजस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना छ ।’

बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसीटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे । नेपालको निर्यात बजार विस्तार भइरहेको र विभिन्न मुलुकहरू साग सहुलियतपूर्ण व्यापार सम्झौताहरूसमेत भएकाले नेपालमा निर्यात केन्द्रित लगानीको अवसर रहेको तर्फ पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराएका थिए ।

बेलायतस्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, नेपालका अर्थमन्त्री प्रकाशशरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।