रुपन्देही । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयां मौन्दिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने बताउनुभएको छ ।
मौन्द्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले लगानीकर्ता उत्साहित हुने र निजी क्षेत्रमा पुंजी प्रवाह बढ्ने बताएका छन् ।
बुटवल पुगेका अर्थमन्त्री महतले लगानीका क्षेत्र समेत खुकुला बनाएकाले फरक—फरक क्षेत्रमा लगानीकर्ता थपिने र लगानीको वातावरण सहज हुने दाबी गरे । उनले आवासीय घर कर्जाको सीमा वृद्धि, ५० लाखभन्दा साना सेयर कर्जा, २५ लाखभन्दा साना हायर पर्चेज कर्जा र सूचीकृत घरजग्गा व्यवसायीबाट भएका घरजग्गा कर्जामा जोखिम भार घटाएर बजारको माग सम्बोधन गरिएको बताए ।
‘मौन्द्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ’ उनले भने,–‘अब छिटै शिथिल बनेको अर्थतन्त्र चलायमान हुनेछ ।’
अर्थमन्त्री महतले मौन्द्रिक नीतिमार्फत् कर्जाको अधिक केन्द्रिकरण रोक्ने, ठूला कर्जा नियमनका लागि नीति बनाउने लगायत व्यवस्था गरेको बताउँदै यसले कर्जाको गुणस्तरमा सुधार हुने दावी गरे ।