काठमाडौं, २९ असार । कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ ।
प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले सो अस्पताल दुई वर्षअघि स्थापना गरेको थियो । एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न बजेट माग गर्ने विषयमा कर्णाली प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय समक्ष अनुरोध गर्ने कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिए ।
सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न माग गर्ने निर्णय भएको उनले बताए ।