काठमाडौं । देशको तीन खम्बे अर्थनीति अन्र्तगत पर्ने सहकारी संस्थाहरु अहिले चरम आर्थिक समस्यामा रहेका छन् । देशका करिब ३३ हजारबढी सहकारीहरु कसरी निक्षेप फिर्ता गर्ने र सहकारी संस्थालाई बदनाम हुनबाट बचाउने ध्याउन्नमा छन् ।
देशका अधिकांस सहकारीमा तरलताको प्रभाव देखिएपनि केहि सहकारीको बदमासीका कारण अहिले देशका अधिकांस सहकारीहरुले त्यसको मार खेप्नु परेको छ । गलत नियतले सञ्चालनमा ल्याइएका सहकारीहरुले जनताको रकम फिर्ता गर्नु भन्दा थुनामा बस्नुनै उपयुक्त हुने भन्दै आत्म समर्पण गरिरहेका छन् । अहिले प्रहरी र सीआईबीसम्म आफै सहकारीका मालिक पुग्ने गरेका छन् ।
यसरी स्वयम सञ्चालक प्रहरीमा पुग्दा उनिहरुलाई प्रहरीले पनि सहयोग गर्ने र शेयर सदस्यहरुको ताकेताबाट बच्ने हुदा कतिपय सञ्चालक नै प्रहरीकोमा पुग्ने गरेको तथ्य देखिएको छ । अहिले ठुला सहकारीमा समस्या देखिएपछि साना तथा प्रत्यक्ष जनताको लगानीबाट बनेका स्थानीय सहकारीमा समस्या आएको हो । मुख्यगरि अहिले संघीय राजधानी काठमाडौंमा रहेका केहि ठुला सहकारीहरुमा आएको समस्याले साना सहकारीहरुमा असर देखिएको छ ।
समस्याग्रस्त सहकारीहरुको पहिचानगरि अध्ययन प्रतिवेदन तयार गर्न गठन गरिएको समितिले सबैभन्दा बढी समस्या १५ वटा सहकारीमा देखिएको र त्यसले गर्दा करिब १३ अर्ब रुपैयाँ अपचलन भएको खुलेको जनाएको छ । सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा घोषित १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको बताएको हो ।
यसमध्ये केही बचतकर्ताहरूको बचत फिर्ता गराइसकिएको र कतिपय समस्या समाधानका लागि विभाग, मन्त्रालय र सम्बन्धित प्रदेश तथा स्थानीय तह र केही मुद्दा सीआईबीमा समेत पठाइएको कार्यालयका अध्यक्ष काशीराज दाहालले बताएका छन् । समितिले अहिले सबैभन्दा बढी यिनै सहकारीमा समस्या आएको जनाएको छ । समितिले सार्वजनिक गरेका सहकारीहरुको अवस्था कस्तो हो ?
१.ओरेन्टल को–अपरेटिभ लिमिटेड
–४२५९ जनाको रु ३.१९ अर्ब (तीन अर्ब उन्नाइस करोड) बचत मागदाबी मध्ये १ लाखभन्दा कम बचत हुने ५१९ जनाको १०० प्रतिशत बचत फिर्ता गरेको ।
–२०८०—०५—५७ मा निलम्बित अध्यक्ष सुधीर बस्नेतबाट रु.८८ करोड बराबरको दायित्व घटाउने कार्ययोजना पेस भई कार्य अगाडी बढेको ।
–सञ्चालक तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति खोजी गरी रोक्का राख्ने र रोक्का रहेका जग्गाहरूको लिलामी प्रक्रिया अघि बढाइएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।
२. कनुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
४. भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
(यी तीनवटै सहकारीको कारोबार ओरेण्टल को–अपरेटिभ लिमिटेडसँगै सम्बन्धित भएकाले सम्बन्धित सहकारीसँगै काम कारबाही हुने)
५. स्टान्डर्ड सेभिड एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
–१७५ जना बचत मागदाबीकर्ताको रु. ११ करोड रकममध्ये ८५ जनाको रु. २.९७ करोड (दुई करोड सन्तानब्बे लाख) बचत फिर्ता भएको ।
–बाँकी ९४ जना बचत मागदाबीकर्ताहरुको दाबी फिर्ताको लागि सञ्चालक तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति रोक्का गर्ने र रोक्का रहेका जग्गाहरूको लिलामी प्रक्रिया अगाडि बढेको ।
६. प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड
–७३५२ जनाको रु ४८ करोड बचत मागदाबीमध्ये १८६ जनाको रु.३६ करोड बचत फिर्ता भएको ।
–सञ्चालक तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति खोजी गरी रोक्का राखे र रोका रहेका जग्गाहरूको लिलामी प्रक्रिया अघि बढाइएको ।
७.सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
–२४० जनाको रु। १०.८७ करोड बचत मागदाबी मध्ये ५.५५ करोड बचत फिर्ता भएको २९ जनाको रु १२ लाखको बचत मागदाबी फिर्ता गरेको ।
–जम्मा बचत रु. ८.४७ करोड मिलान भएको, बाँकी ४.४० करोड (चार करोड चालिस लाख) बचत फिर्ता हुन बाँकी रहेको ।
–संस्थाको नाममा चितवनमा रहेको १३ कट्टा घरजग्गा बाँकी दाबीकर्तालाई मिलान गरी सहकारी फर्छ्यौटको अवस्थामा रहन आएको । उल्लेखित जग्गामा नेफ्स्कूनबाट मुद्दा परी समितिबाट प्रतिरक्षाको कार्य भइरहेको ।
८.प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
–१३८ जनाको रु १३.२ करोड बचत मागदाबीमध्ये २० जना दाबीकर्ताको ३३ लाख बचत फिर्ता भएको।
–सञ्चालक तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति रोक्का गर्ने रोका रहेका जग्गाहरुको लिलामी प्रक्रिया अगाडि बढेको ।
९.लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड
–२१४ जनाको रु ११.७४ करोड बचत मागदाबी मध्ये ६ करोड बचत फिर्ता भएको
–बाँकी बचतकर्ताको बचत फिर्ताको लागि सञ्चालकको अचल सम्पत्ति लिलाम प्रक्रिया सुरु गरी लिलामी सूचना प्रकाशित गर्दा समेत बोलपत्र पर्न नआएको अवस्था रहेको ।
१०.चार्टड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
–सम्पूर्ण मागदाबीकर्ताको रु.८४ लाख बचत मागदाबी फिर्ता भई राफसाफ भएको ।
११.स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड
–सम्पूर्ण मागदाबीकर्ताको रु ७५ लाख बचत मागदाबी फिर्ता भई राफसाफ भएको ।
१२. कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
–सम्पूर्ण मागदाबीकर्ताको रु ५७ लाख बचत मागदाबी फिर्ता भई राफसाफ भएको ।
१३.पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
–समस्याग्रस्त घोषणा मिति २०८०—०४—०१
–सम्पूर्ण शाखा कार्यालय शिल गरी सामाग्री, श्रेस्ता जफत गरी कार्यालयमा ई अभिलेखीकरण तथा अद्यावधिक गर्ने कार्य भइरहेको ।
–सञ्चालक, कर्मचारी तथा ऋणी सदस्यहरूको चलअचल सम्पत्ति खोजतलास तथा रोक्का गरे कार्य भइरहेको ।
–सञ्चालक तथा कर्मचारीहरूको बयान कार्य प्रारम्भ भएको ।
–ऐनको दफा ११२ बमोजिमको मागदाबी पेस गर्ने सूचना जारी भई
–बचत मागदाबीकर्ताको सङ्ख्या ९८४ जनाको रकम रु.९८.७५ करोड रुपैयाँ दाबी भएको ।
१४.शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
–समस्याग्रस्त घोषणा मिति २०८०—०५—२५
–अधिकार स्वतः निलम्बन भएको सूचना प्रकाशित भएको ।
–शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको ३६ बटा शाखा कार्यालयहरू रहेकोमा शिल गरी कागजात बरामद गर्ने कार्य निरन्तर रूपमा भइरहेको ।
–मिति २०८०—०९—१८ मा अनलाइनमार्फत मागदाबी अद्यावधिक गर्ने सूचना जारी भई मिति २०८०—१०—०५ सम्ममा १६,३६५ जनाले रु.६.२७ अर्ब रकम मागदाबी प्राप्त भएको ।
–सञ्चालक, कर्मचारी, संस्था र सोही सहकारी संस्थासँग सम्बन्धन देखिएका कम्पनीहरूको चल—अचल सम्पत्ति खोजतलास तथा रोक्का गर्ने कार्य भइरहेको ।
१५. तुलसी बहमुखी सहकारी संस्था लिमिटेड
–समस्याग्रस्त घोषणा मिति २०८०—०५—२५
–अधिकार स्वतः निलम्बन भएको सूचना प्रकाशित भएको ।
–यस सहकारी संस्थाको सम्पूर्ण शाखा कार्यालय शिल गरी कागजात बरामद गरी कार्यालयमा ल्याइएको ।
–सञ्चालक, कर्मचारी, संस्था र सोही सहकारी संस्थासँग सम्बन्धित देखिएका कम्पनीहरूको चल अचल सम्पत्ति खोजतलास तथा रोक्का गर्ने कार्य भइरहेको अध्यक्ष काशीराज दाहालले बताएका छन् । १५ वटा समस्याग्रस्त सहकारीमध्ये हालसम्म ५ वटाको समस्या समाधान गरिसकिएको, ३ वटाको समाधानको क्रममा रहेको र बाँकी कारबाहीमा रहेको उनले बताए । यद्यपि, १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी संघ संस्थाहरूमध्ये करिब ५ सय सहकारी समस्यामा रहेको उनको भनाइ छ ।
यता, विजनेस दर्शनसँग कुरा गर्दै कीर्तिपुर सहकारी संघका अध्यक्ष दिलबहादुर महर्जनले देशभरीका सहकारीमा समस्या आएपनि कीर्तिपुरका सहकारीमा समस्या आउन नदिने बताए । उनले स्थानीय सरकार गम्भीर भएर लागे कीर्तिपुरमा रहेका सहकारीहरुको अहिले देखिएको अन्यौलता अन्त्य गर्न सकिने उनको भनाई छ । उनले भने, कीर्तिपुरका सहकारीमा समस्या आएको होइन, केहि अन्यौलता रहेको छ, शेयरसदस्यहरुमा भ्रमण फैलाइएको छ, गलत नियतका कारण सहकारीमाथि पारिएको भ्रममा नपर्न उनले आग्रह समेत गरे ।
उनले भने, केहि सहकारीका कारण कीर्तिपुरका सहकारीमा समस्या आउन नदिने र त्यस्ता समस्याको समाधानमा सबै जुट्नुपर्ने बताए । अहिले कीर्तिपुरका केहि सहकारीहरुमा आर्थिक तरलता देखिएपनि त्यसको समाधानकालागि संघ लागिपरेको बताए ।