काठमाडौं । स्वास्थ्य बीमा गरेका व्यक्तिले अब तोकिएको ‘प्रथम सेवा बिन्दु’मै धाउनुपर्ने झन्झट हटेको छ । स्वास्थ्य बीमा बोर्डले आगामी साउन १ गतेदेखि लागू हुने गरी बीमितलाई जुनसुकै नजिकको सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था गरेको छ । यसअघि बीमितले पहिलोपटक स्वास्थ्य बीमा सेवा सुरु गर्दा अनिवार्य रूपमा आफूले बीमा गरेको स्थानकै ‘प्रथम सेवा बिन्दु’मा जानुपर्थ्यो ।
तर अब स्वास्थ्य बीमा प्रणालीलाई थप लचिलो बनाउँदै उक्त बाध्यता हटाइएको हो । तर प्रथम सेवा लिनका लागि भने सरकारी स्वास्थ्य संस्थामा नै जानुपर्ने छ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा भएको संशोधनअनुसार बीमितलाई तोकिएको एक मात्र प्रथम सेवा बिन्दुबाट सेवा लिनुपर्ने बाध्यता हटाइएको छ ।
बीमितलाई निरन्तर गुनासो आइरहने र सरलरूपमा सेवा उपभोग गर्न सहज वातावरण बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बीमा बोर्डका सुचना अधिकारी विकेश मल्लले बताए । अब बीमितले स्वास्थ्य बीमा बोर्डबाट ‘प्रथम सेवा बिन्दु’को रूपमा अनुमति पाएका जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्न सक्नेछन् ।
सेवाग्राहीको समय, पैसा र झन्झट कम हुने विश्वास गरिएको छ । त्यस्तैगरी विशेषगरी स्थानान्तरण, यात्रा वा आकस्मिक अवस्थाका बेला बीमितलाई उपचारमा सहजता पुर्याउने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गत १७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले ‘स्वास्थ्य बीमा नियमावली’ संशोधन गर्दै यस्तो व्यवस्था गर्न स्वीकृति दिएको थियो । सो निर्णयलाई कार्यान्वयनमा लैजाँदै बिहीबार स्वास्थ्य बीमा बोर्डले सार्वजनिक सूचना जारी गरेको हो ।