काठमाडौं, श्रावण १५ । महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ध्यानाकर्षण गरेको छ । लम्पी रोगबारे मर्ने पशुको संख्या ५० हजार नाघेपछि कार्यालयले चासो दिएको हो । मुख्यसचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले लम्पीबारे चासो राख्दै खोप कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
संघीय सरकार, स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने कार्यायोजना बनाउन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भनेको हो । लम्पी स्किनबाट साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ । ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन् ।
त्यसमध्ये ५० हजारभन्दा पशु मरेका छन् । २ लाख ४८ हजार ३ सय ५ पशु अझै सक्रिय संक्रमणमै रहेको विभागले बताएको छ । सरकारी लापरबाहीले रोग भयावह बनिरहेको आलोचना भएपछि केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ६६औं बैठकले तीन दिनभित्र कार्ययोजना बनाएर खोप व्यवस्थापन गर्न निर्देशन दिएको हो । समितिको बैठकले खाद्यान्न आपूर्तिको सहज व्यवस्थापन र डेंगी फैलिन नदिन जनचेतनामूलक सन्देश प्रवाह गर्नसमेत निर्देशन दिएको छ ।