काठमाडौं । पछिल्लो समय आर्थिक तरलताकाबीच पैसा कहाँ गयो ? भन्ने प्रश्न सबैको मनमा छ । तर, नेपालको ठुलो धनरासी होन्डी र अनलाइन जुवाबाट बाहिरिएको तथ्य हामीमाझ आएको छ । पछिल्ला वर्षहरुमा अनलाइन जुवाबाट मात्रै अर्बाै रकम देशबाट बाहिरिएको त्यसको उदाहरण हो शुक्रबारको एउटा घटना । झापाका एक ३० वर्षीय पिन्टुकुमार साह भनिने एक व्यक्तीलाई प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा ठुलो रकम सहित पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई कानुन विपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको अभियोगमा पक्राउ गरेको हो । साहले इन्टरनेटको दुरुपयोग गरी वान एक्स बेट, मेलबेट, रुपी बेट, स्काई चेन्ज, बेलीज बेट, खेल विन लगायत वेवसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खाता मार्फत् पैसा असुल गर्ने गरेको प्रहरीको भनाई छ । उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको छ । यो घटना हालैको भएपनि यसअघि यस्ता घटनाहरुमा प्रहरीले करोडौं रुपैयाँ सहित विभिन्न व्यक्तीहरुलाई पक्राउ गरेको छ ।
यस घटनामा प्रहरीले कीर्तिपुरबाट पनि विभिन्न व्यक्तीहरुलाई पक्राउ गरेको थियो । २०७८ माघ ७ गते नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा प्रहरीले राजधानीको विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले कीर्तिपुर नगरपालिकाको चोभार, नगाउँ र बागभैरवका केही घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो ।
कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले खानतलासी गर्दा १४ थान ल्यापटप, १७ थान मोबाईल, दुई थान कम्प्युटरको सीपियु, दुई थान मनिटर र तीन थान राउटरलगायत उपकरणहरू बरामद गरेको थियो । तत्कालिन समयमा पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदीपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण तयारी मिलाई तीन वटा घरमा २४ सै घन्टा सिफ्टवाइज कर्मचारीसमेत खटाएको प्रहरीको अनुसन्धानबाट खलेको थियो । फेसबुक आइडीमार्फत् अमेरिकी र युरोपेली नागरिकहरूलाई साथी बनाई जुवा, फायर किरिङ, रिभर स्विप्स्, रिभर मोन्स्टर र भेगर एक्सलगायत अनलाइन जुवा खेल्ने लिंक सेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्नेलाई तोकिएको धनराशि समेत पुरस्कारको रूपमा दिइने गरेको सो समय तथ्य बाहिर आएको थियो ।
सोधपुछको क्रममा उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको प्रहरीले जनाएको थियो । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका ६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, वडा नम्बर ६ बस्ने १७ वर्षीय मनिष थापा, १७ वर्षीय समिर थापा, २७ वर्षीय कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर वडा नम्बर १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, १९ वर्षीया हनिशा महर्जन, वडा नम्बर ८ बस्ने २० वर्षीया रोजा महर्जन र १९ वर्षीय साहिल महर्जन, वडा नम्बर ९ बस्ने ३५ वर्षीय प्रदीपमान सिंह बस्नेत, वडा नम्बर ५ बस्ने १९ वर्षीय विनोद ठगुन्ना र १७ वर्षीय रमादेवी श्रेष्ठ रहेका थिए । सो घटनाले कीर्तिपुर तथा सो क्षेत्र आसपासमा निकै ठुलो होहल्ला भएको थियो । अहिले फेरी सो क्षेत्रमा अनलाइन जुवा खेलाउने गरेको तथ्य बाहिर आएको छ । हामीले केहि स्थानमा अध्ययन गर्दा कीर्तिपुरमा लगातार अनलाइन जुवा हुने गरेको पाइएको हो । पछिल्लो समय आर्थिक तरलताकाबीच देश गुज्रीदा ऐतिहासिक शहरकारुपमा चिनिने यस कीर्तिपुरमा क्षेत्रमा अनलाइन जुवा हुने गरेको भन्दै स्थानीयहरु चिन्तीत बनेका छन् ।
केहि यस विषयमा प्रहरी प्रशासनमा सहयोग माग्न खोज्दा सामाजिक प्रतिष्ठामा आच आउने भन्दै अभिभावकहरु चिन्तीत भएको स्थानीयको भनाई छ । खुलेयाम अनलाइन जुवा हुने गरेपनि स्थानीय प्रशासन भने मुखदर्शक बनेको पाइएको छ । कीर्तिपुर आफैमा एउटा ऐतिहासिक र पुरानो शहर हो । यहाँको भौगोलिक अबस्था हेर्दा जो कोहि पनि मनमोहक हुने गरेको छ । तर, कति पय यस्ता स्थानहरु छन् जहाँ न प्रहरी प्रशासन पुग्छ न यहाँका स्थानीय जनप्रतिनिधी । ‘अहिले कीर्तिपुरमा अनलाइन जुवाको विगविगी भइरहेको एक व्यक्तीले बताए तर, त्यसलाई रोक्ने सामथ्य भने नभएको उनको भनाई छ’ । यस विषयमा सम्बन्धीत निकायको ध्यान जानुपर्ने सरोकारवालाको भनाई छ ।कीर्तिपुरमा घटेको घटना दुई वर्षअघिको भएपनि अहिलेपनि अनलाइन जुवा विभिन्न स्थानहरुमा खेलाइ रहेको भन्ने सुचनामा हामीले प्राप्त गरेको छौं । यस्तो अबस्थामा सम्बन्धीत निकायले ध्यान पुर्याउन सकेन भने सोहि नियति भोग्नु पर्ने अबस्था आउन सक्छ । त्यसमा पनि ठुला चाड दशै तथा तिहार नजिकिदै गर्दा थप जटिलता बढ्ने देखिएको छ ।