काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चिनियाँ राजदूत समक्ष आग्रह गरेको छ ।
व्यापारिक साझेदार चीनसँगको सीमामा सुविधासम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरणका लागि चेम्बरले आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो ।
दुई देशको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर व्यापार सहजीकरण गर्न आवश्यक रहेको भन्दै अध्यक्ष मल्लले स्याफ्रुबेसी–केरुङ सडक निर्माणका लागि पहल गर्न आग्रह गरे ।
‘चीनसँग नेपालको व्यापार खाडल उच्च छ, वस्तुको निर्यात वृद्धिका लागि पहल गर्नुपर्छ,’ उनले भने, ‘नेपालले चीनबाट वार्षिक २ खर्व २२ अर्ब रुपैयाँ बराबरको आयात गर्दा नेपालबाट १ अर्ब ७६ करोड रुपैयाँ हाराहारीमा निर्यात गर्दै आएको छ ।’ राजदूत सोङले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।
नेपालको आर्थिक विकास र समृद्धिका लागि राज्यको नीति स्थिर हुनुपर्ने र यसका लागि निजी क्षेत्रले पनि पहल गर्नुपर्ने उनको भनाइ छ ।