काठमाडौं । भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका—२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका—३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।
खोलालाई थुनेर माटो भरेको ठाउँमा पिलर अड्याएर फर्मामाथि रड राख्ने काम जारी थियो । एक्कासि रडको लोड थाम्न नसकेर स्लाब ढलानको फर्म भाँचिएको पूर्वाधार कार्यालय भोजपुरका फिल्ड इन्जिनियर सोहन कुमार महासेठले जानकारी दिए । पुल ठेकेदार र इन्जिनियरको लापरबाहीले गर्दा भाँचिएको स्थानीयले आरोप लगाएका छन् ।
यस्तै, पुल निमार्णको काम २०७७ सालदेखि सुरु भई यही वैशाखसम्ममा निमार्ण सम्पन्न गर्नुपर्ने सम्झौता छ । पुल निमार्णको जिम्मा दिव्य ज्योति कन्स्ट्रक्सनले कुल ६ करोड लागतमा ठेक्का लिएको थियो ।