काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा भएका राम्रो कामलाई पनि सांसद विकास कोषले छाँयामा पारेको बताएका छन् । उक्त रकम पनि पुँजिगत खर्च नै भएको उनले बताए ।
यो रकम सांसदले खर्च गर्ने नभई सिफारिस मात्रै गर्ने उनले बताए । न्यूनतम १ करोडभन्दा बढी खर्च गर्नुपर्ने भएकोले त्यो रकम सम्बन्धित मन्त्रालयले ठेक्कामा लगाउने उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा मन्त्री महतले अहिले पनि बजेट कार्यान्वयनमा समस्या धेरै रहेको भन्दै ती समस्या समान गर्दै अघि बढ्ने बताए । सामाजिक सुरक्षा, सामान्य खर्च, ऋणको साँवा ब्याज तिर्नुपर्ने समस्या यथावत रहेको उनको भनाइ छ ।
यी बिषयमा सहजै उम्कन सक्ने सम्भावना कम रहेको उनको भनाइ छ । विनियोजन गरेको बजेट कार्यान्वयन गर्नका लागि बुँदागत रुपमा नै ल्याएको उनको भनाइ छ ।
कार्यान्वयनमा चुनौती भए पनि आफू अघि बढने र अर्थतन्त्रलाई गति दिने उनको भनाइ छ । प्रशासनिक खर्च कहाँ घटाउन सकिन्छ हेरेर अघि बढ्ने मन्त्री महतको भनाइ छ ।