काठमाडौं । सर्वाधिक भीड हुने यातायात ब्यवस्था कार्यालय एकान्तकुनाले विहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ। अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात ब्यवस्था कार्यालयमा अनलाइन सेवा शुरु गर्नु भएको हो। दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए। ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले बताए ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ।
’नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो। तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ। ‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात ब्यवस्था कार्यालयमा जानुुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने। ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात ब्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो।’सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात ब्यवस्था कार्यालय जानुपर्नेछ।
अन्य सवै कामहरु घरबाटै अनलाइन सेवाद्वारा गर्न सकिने यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले मन्त्रीको सपथ लिएलगतै यातायात कार्यालयहरुमा लाग्ने भीड हटाउने प्रतिबद्धता गरेका थियो। प्रतिबद्धता अनुसार २० असारदेखि कास्की यातायात ब्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो। कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको छ।
‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात ब्यवस्था कार्यालय द्वारा पनि अनलाइन सेवा सुचारु गर्छाै, मन्त्री ज्वालाले बताए। यातायात ब्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरुको अन्त्य गर्न देशका सवै यातायात ब्यवस्था कार्यालयहरु अनलाइन सिस्टममा लिन लागिएको छ।