काठमाडौं, भदौ १५ । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको निर्माणमा भएको ढिलाइले यस क्षेत्रका उद्योगी व्यवसायीहरु निराश भएका छन् । बाँकेको बैजनाथ गाउँपालिकाको नौबस्तामा निर्माण हुने सो औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि नबढ्दा त्यहाँ उद्योग सञ्चालनका लागि प्रस्ताव पेश गरेका उद्योगी व्यवसायी निराश बनेका हुन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरीले नौबस्ता औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि सात वर्षअघि प्रस्ताव पेश गरेर निर्माण पूरा हुने र उद्योग सञ्चालन गर्ने आशामा रहेका उद्योगी व्यवसायीहरु हाल आएर निराश बनेको बताए । उहाँले आवेदन दिए औद्योगिक क्षेत्रमा उद्योगका लागि आवेदन दिएका उद्योगीले पटकपटक निर्माण सुरु गर्न विभिन्न माध्यमबाट दबाब दिइरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बताएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणमा परेकोले सो नहटेसम्म पूर्वाधार निर्माणको काम सुरु नगर्ने कानुनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम सुरु गर्न सकेको छैन ।
यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधिले पटक पटक अतिक्रमण हटाउने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा धेरै पटक भएको छलफलपछि अवरोध हटाउनका लागि प्राविधिक समिती गठन गरिए पनि अवरोध हटाउन सकिएको छैन । औद्योगिक क्षेत्रको डिपिआर भएको क्षेत्रभित्र ६४ वटा घर रहेको भन्दै ती घरहरुको व्यवस्थापन गर्न प्राविधिक समितिले सुझाव दिएको थियो तर हालसम्म पनि सो सुझाव कार्यान्वयन हुन सकेको छैन।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले घोषणा गरिएको एक दशकभन्दा बढी बित्दा पनि औद्योगिक क्षेत्रको निर्माण नै सुरु हुन नसक्नु निकै दुःखद रहेको बताए। उनले तत्काल समस्या समाधान गरेर सो औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सुरु गरिनुपर्ने माग गरे ।