काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता तथा सेयर सदस्यले शनिबार विशेष साधारण सभा गरेका छन् । सहकारीको भौतिक सम्पत्ति तथा रकम हिनामिना गरेर भागेका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको सम्पत्तिबाट भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने साधारण सभाले निर्णय गरेको छ । ६० प्रतिशतभन्दा बढी सेयर सदस्य बचतकर्ताको रकम फिर्ता गर्ने पहलको पहिलो खुड्किलोका रुपमा विशेष साधारण सभामा सहभागी भएको इमेल सहकारी पीडित संघर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए । सहकारीका ८ सय १२ सेयर सदस्यमध्ये ६० प्रतिशत बढी साधारण सभामा उपस्थित रहेको उनले बताए ।
सहकारी ऐनमा बहुमत सेयर सदस्य मिलेर बोलाएको विशेष साधारण सभाले वैधानिकता पाउने उल्लेख छ । नगर प्रमुख नेपालीसहितका सञ्चालकहरु फरार भएपछि ९ महिनादेखि पीडितहरु सडक संघर्षमा छन् । उनीहरुले सहकारी रजिस्ट्रारको कार्यालय, स्थानीय प्रशासन र सहकारी बैंकसमेतको सल्लाहमा विशेष साधारणसभा गरेको बताए । ‘हामीले बचतकर्ताको रकम फिर्ता गर्ने र सेयर सदस्यलाई पनि लगानी सुरक्षित गर्ने उपायको खोजी गरेका हौं,’ पीडित संघर्ष समितिका अध्यक्ष कार्कीले भने, ‘यो पहिलो खुड्किलो हो, केही समयभित्रै अचल सम्पत्ति लिलाम गरेर भए पनि जनताको बचत फिर्ता गर्छौं ।’ उनले सबै पीडितलाई अन्तिम समयसम्म साथ दिन आग्रह गरे ।
विशेष साधारण सभामा गण्डकी प्रदेश सभाका सदस्यहरु जित शेरचन, कृष्ण पाठक, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, सहकारी बैंकका सञ्चालक रामबहादुर जीसी, सहकारी महासंघकी सदस्य हुमाकुमारी जीसीलगायतले बचतकर्ताको रकम फिर्ता गर्ने अभियानमा साथ दिने बताएका छन् ।
गत वैशाख ६ गते सहकारीले सूचना टाँसेर तरलता अभावले कार्यालय बन्द गरेको जनाएको थियो । जेठ ४ देखि भने संस्थापक अध्यक्ष रहेका नगर प्रमुख नेपाली फरार छन् । बचतकर्ताको १ अर्ब ५६ करोड रुपैयाँ नेपालीले हिनामिना गरेको आरोप छ । त्यसबाहेक नेपालीले ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र गरिमा विकास बैंकको गरी झण्डै ३५ करोड ऋणसमेत लिएको देखिएको छ । नगर प्रमुख नेपालीका नाममा रहेका केही भौतिक सम्पत्ति बैंकले धितो राखेको छ । सम्पत्तिको ४० प्रतिशत मूल्यांकनको मात्रै ऋण लिएकाले पूरै सम्पत्ति बेच्दा सबै बचतकर्ताको रकम फिर्ता गर्न पुग्ने भएकाले त्यसका लागि वैधानिकता दिनसमेत विशेष साधारण सभा गरिएको समितिका सचिव यामप्रसाद पोखरेलले बताए ।
सहकारीबाट पीडित भएका १ हजार ५ सय ५० जनाले जिल्ला अदालतमा ठगी मुद्दासमेत दिएका छन् । उनीहरुको १ अर्ब ६० करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख छ । मुद्दाकै आधारमा सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सञ्चालक समिति सदस्यहरु चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान र अनिता बुढामगर पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ को आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर पुस पहिलो साता पक्राउ परेका हुन् ।
पक्राउ परेका पाँचै जनाले सहकारीमा रकम हिनामिनामा आफ्नो कुनै हात नभएको दाबी गर्दै आएका छन् । ‘हामीलाई जहाँजहाँ सहीछाप लगाउन भनियो, त्यहीं लगाएका हौं, हाम्रो केही दोष छैन भनेका छन्,’ जिल्ला अदालतका स्रेस्तेदार शिवहरि सुवेदीले भने, ‘मुख्य अभियुक्त पक्राउ नपरेसम्म उनीहरुको भनाइकै आधारमा छाड्न मिल्ने अवस्था छैन ।’ उजुरीका आधारमा सहकारी ठगी मुद्दाका लागि कम्तीमा ७ वर्ष जेल र बिगो बराबर जरिवानाको व्यवस्था रहेको उनले बताए । त्यसबाहेक पनि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने कानुनी प्रावधान छ ।
गत मंसिर ५ गते नगरप्रमुख नेपालीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिलाई टेकेर पीडितहरुले सहकारीको साधारण सभामार्फत अचल सम्पत्ति बेचेर दामासाही गर्ने वा सहकारीलाई पुनः सञ्चालनमा ल्याउने पहलसमेत गर्न थालेको बताए । प्रहरीको फरार सूचीमा रहेका उनले मंसिर ५ मा फेसबुक लाइभ गर्दै व्यक्तिगत सम्पत्ति बेचेर पनि बचतकर्ताको रकम फिर्ता गर्ने आश्वासन दिए पनि त्यसयता सामाजिक सञ्जालमा समेत देखिएका छैनन् । आजको कान्तिपुरमा खबर छ ।