काठमाडौं । टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ । गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । उनले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानविन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भएपनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको बताइन् ।
उनले सरकारले दिएको समय अवधि माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिइन् । मन्त्री शर्माले शेयर खरिद बिक्रीएको सम्बन्धमा समिति अध्ययन तथा छानविनको क्रममा रहेको बताइन् । उनले समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानविन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरुको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको बताइन् ।
मन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस प्रणाली कार्यान्वयनको चरणमा रहेको बताइन् । उनले कार्यान्वयनको चरणमा भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको स्वीकार गरिन् । उनले एमडिएमएस प्रणाली देशको लागि आवश्यक भएको सरकारको धारणा रहेको बताइन् । उनले सरकार प्रभावकारी कार्यान्वयनतर्फ लागि रहेको बताइन् ।
उनले अर्बौं अनियमितताको आशंका गरिएको टेरामक्स खरिद प्रक्रिया कार्यान्वयनमा मन्त्रालयले रोक लगाएको र एमडीएमएसबारे छानविन भइरहेको बताइन् । उनले टेरामक्स प्रविधि जडानका लागि खरिद प्रक्रियामा प्रश्न उठेर संवैधानिक निकायबाट समेत छानबिन भइरहेकाले कार्यान्वयन रोक्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको उल्लेख गरिन् । मन्त्रालयले पनि कानून र कार्यविधि बनाएरमात्र अघि बढ्ने निर्यण गरेकाले यो लागू नभएको मन्त्री शर्माको भनाई छ ।