काठमाडौं । गत कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ५.३८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चार महिनाको मूल्यवृद्धिदरमा सुधार भएको हो । गत आर्थिक वर्षको कात्तिकमा औसत मूल्यवृद्धिदर ८.०८ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.८९ प्रतिशत रहेको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६।४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।
यस्तै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ ।