काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.३ का अध्यक्ष सुविन्द्र महर्जनले अहिले पनि स्थानीय तहका जनप्रतिनिधिलाई मतदाताले कामदारको रुपमा हेर्ने गरेको बताए । उनले घरअघिको फोहर पनि स्थानीय जनप्रतिनिधिले नै उठाइयोस्, बाटोको खाल्डो पनि अध्यक्षले नै आएर पुरोस् यतिसम्मकी सडकका बत्ती बाल्ने र निभाउन जाने काम पनि स्थानीय जनप्रतिनिधिकै हो भन्ने जनमानसमा भावना रहँदा हामीले गरेको कामको जस नभएको उनको भनाई छ ।
विजनेस दर्शन डटकमसँगको कुराकानीमा अध्यक्ष महर्जनले स्थानीय तह सुशासनको प्रत्याभूति दिलाउने, स्थानीय तहका जनताको अभिभावकत्व ग्रहण गर्ने र सचेतना अभिवृद्धि गर्ने जस्ता कामहरुमा सहयोगी भूमिका निभाउने निकाय मात्रै हो तर, यहाँ स्थानीय तहले मतदाताकै घरअघिको फोहर उठाएमात्रै काम गरेको जस्तो देखिएको धारणा व्यक्त गरेका छन् । करिब ४५ सय मतदाता रहेको सो वडा कीर्तिपुर नगरपालिकाको शहरी इलाकाको मुख्य स्थानमा रहेको छ ।
विकास निर्माण र स्थानीय सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाएका अध्यक्ष महर्जनले स्थानीय तहमा गरिएका विकास निर्माणका कामलाई प्रचारात्मक नगर्ने गरेको बताए । ‘अहिले सामाजिक सञ्जालमा सडकमा सफा गर्दै हिँड्ने स्थानीय जनप्रतिनिधिले भोली त्यहि सडकमा फोहर गर्छ किनभने, जनप्रतिनिधि हुँदामात्रै उसले दायित्व निभाउने हो, जब कार्यकाल सकिन्छ उ एउटा मतदातामात्रै हो’ उनले भने ।
हामीले जनताको मानसिकता परिवर्तन गर्न सक्नुपर्छ, त्यो नै अहिलेको प्रमुख दायित्व हो । विकास निर्माणमा वडाले अहिलेसम्म कस्ता काम गरेको छ भन्ने प्रश्नमा उनले भने, ‘स्थानीय तहमा आउने बजेट एक करोड पचास लाख हाराहारी हो । त्यसमा विभिन्न शीर्षकमा खर्च हुन्छ । अन्य वडा जस्तो स्थानीय कर उठ्दैन त्यसले गर्दा अहिले नै विकास निर्माणले धेरै गति दिएको छ भन्न मिल्दैन । प्रयास हाम्रो हो हामी गर्छाैं त्यसमा स्थानीयले साथ दिनुपर्छ ।’ उनको भनाई अनुसार अहिले स्थानीय तहमा आएको बजेट पर्याप्त छैन । यसले कार्यालय व्यवस्थापनदेखि आन्तरिक कार्यक्रमहरुमा मात्रै सीमित छ । स्थानीय तहमा उठ्नुपर्ने घर बहाल कर, स्थानीय अन्य कर लगायतका विषय प्रभावकारी देखिंदैन । वडामा मुश्किलले घरबहाल कर बुझाउने गरेपनि नगन्ने मात्रामा रहेको उनको भनाई छ ।
वडा वरपर अहिले तीन वटा ठूला पोखरी छन्, जसलाई स्थानीय तहले चलाउन सक्छ तर, त्यो स्थानीय क्लबको अधिनमा रहेको छ । उनले भने, ‘हामी यसलाई व्यवसायीक प्रयोजनका लागि अघि बढाउन सक्छौं वा पर्यटन प्रर्वद्धनका लागि काम गर्न सक्छौं तर स्थानीयले यो कुरा बुझ्दैन । यसले वडामा आर्थिक बढ्छ, त्यसलाई विकास निर्माणमा खर्च गर्न सकिन्छ, पर्यटन प्रर्वद्धन भए रोजगारी बढ्छ यसले स्थानीयलाई नै फाइदा हुन्छ ।’ वडा अध्यक्ष महर्जनका अनुसार कीर्तिपुर वडा नं.३ आसपासमा अहिले तीन वडा पोखरी छन्, त्यसमध्ये एउटा निर्माणाधीन अवस्थामा छ । ती पोखरीमा स्थानीय क्लबले माछा पालन गरेका छन् ।
स्थानीयले तहले पर्यटन प्रवद्र्धनकालागि के–कस्ता कार्यक्रम अघि बढाएको छ भन्ने प्रश्नमा वडा अध्यक्ष महर्जन भन्छन्, ‘सबै विषय बजेटमा आएर टुंगीएको छ । उल्लेखनीय केहि नभएपनि प्रयासमा छौं ।’ उनले यसो भन्दै गर्दा स्थानीय जनाप्रतिनिधिमा काम गरेका अधुरा लिष्ट प्रस्तुत गर्ने परिपाटी उनीमा देखिएन । जे जस्तो भएको छ, स्थानीयकालागि भएको छ । यहाँ सबैले कमाउने अबस्था नहुने बताए ।
नव प्रर्वद्धक र उद्यमशिलताका विषयमा वडा गम्भीर भएपनि स्थानीय जनतामा कुनै ईच्छा नदेखिएको उनको भनाई छ । ‘कुनै तालिम सञ्चालन गरे एउटै मान्छे १० वटा कार्यक्रममा भाग लिन्छ, वडाको स्थानीय नआउ भन्न मिल्दैन तर, उसले आफ्नो जिवनमा उपभोग भने गर्दैन । उनको गुनासो थियो ।
उनले भने, ‘हामीले एकल महिलाका लागि रोजगारी र उद्यमशिलताका कार्यक्रम अघि बढायौं, पढेका महिलाहरु आउन मान्दैन्, नपढेका एकल महिलाहरु काम गर्ने इच्छा देखाउंदैनन् । यस्तो अबस्थामा स्थानीय तहले के गर्छ ? उनले पछिल्लो समय शिक्षामा पनि स्थानीय तहले सहयोग गरेको बताए । अहिले हामीले सकेको गरेका छौं, र अब विद्यालय पनि आत्मनिर्भर बन्नुपर्ने उनकोे धारणा छ । वडा अध्यक्ष महर्जनले आफ्नो कार्यकालमा कसेर काम गर्ने भन्दै त्यसकालागि स्थानीयहरुको साथ नै सबैभन्दा महत्वपूर्ण हुने बताए ।