काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३०.५६ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २०७० अंकमा कायम भएको छ ।
बैंकहरुले सोमबार बिहान ब्याज घटाएर सूचना सार्वजनिक गरेपछि सो दिन बजार १५ अंक बढेको थियो । बैंकहरुले ब्याजदर घटाउँदै गए पनि राष्ट्र बैंकको मौद्रिक नीतिले ब्याजदर घटाउन साथ नदिएपछि सेयर बजारमा प्रभाव देखिएको हो ।
सोमबार साँझ आएको मौद्रिक नीतिले नीतिगत दरहरुलाई पनि यथावत राखिदियो । मंगलबार बजारमा सबै क्षेत्रका सूचकहरु घटेका छन् । बैंकिङ १.०९, विकास बैंक २.४०, फाइनान्स २.२०, होटल तथा पर्यटन १.८०, हाइड्रोपावर ०.५८, लगानी २.०६, जीवन बीमा १.७५, उत्पादन १.०३, माइक्रोफाइनान्स १.५५, निर्जीवन बीमा १.८०, अन्य २.२७ र ब्यापार समूह ०.५२ प्रतिशत घटे ।
कुल ४० कम्पनीको मूल्य बढ्दा २०३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन बोटलर्स नेपाल, समाज लघुवित्त, सुपरमाइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जोशी हाइड्रोपावरको ८, मैलुङखोला जलविद्युत्को ६.८८, दोर्दीखोलाको ६.७ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको ९.७, कर्णाली विकास बैंकको ५.८, सिर्जनशील लघुवित्तको ४.९२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, तमोर, सगरमाथा जलविद्युत् कम्पनी र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।