काठमाडौं। निर्माण व्यवसायीले सोमबार प्रधानमन्त्री निवास अगाडि सेफ्टी हेल्मेट लगाएर धर्ना दिएका छन्।
निर्माण सम्पन्न भएका आयोजनाको ५० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउनुपर्ने, आयोजनाको म्याद थप हुनुपर्ने, कानुन संसोधनलगायत ९ बुँदे मागसहित व्यवसायीले प्रधानमन्त्री निवास अगाडि एक घन्टा धर्ना दिएका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा देशभरिका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारी निवास बालुवाटारमा धर्ना दिएका हुन्। नौ बुँदे माग लेखिएका प्लेकार्ड र सेफ्टी हेल्मेटसहित व्यवसायी प्रदर्शनमा उत्रिएका थिए।
महासंघका अनुसार व्यवसायीका माग सम्बोधन नभएसम्म आजबाट प्रधानमन्त्री निवास अगाडि निरन्तर धर्ना हुनेछ। असार २९ गतेबाट निर्माण व्यवसायीहरुले विभिन्न चरणका आन्दोलन गर्दै आएका छन्।
के–के छन् महासंघका माग?
१) सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने
२) नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने
३) अत्यधिक र अप्रत्याशितरूपले भएको मूल्यवृद्धि सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने
४) रुग्ण आयोजना अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने
५) चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्नेलगायत कारबाही रोकिनुपर्ने
६) बिमा प्रिमियम दरमा भएको वृद्धि खारेज गरिनुपर्ने
७) स्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको बक्यौता समयमा राजस्व खातामा दाखिला गरिनुपर्ने
८) उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने
९) कानुनमा संशोधन गरिनुपर्ने