काठमाडौं । स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणका क्रममा सुरुङ मार्गको पूर्वी पोर्टको ८३ मिटरमाथि खाडल पर्दा क्षति भएको नौ वटा घरलाई अस्थायी स्थान्तरण गर्ने सहमति भएको बताउँदै सहमतिसँगै शनिबारदेखि सुरुङको काम पुनः सुरु भएको जानकारी दिए । पीडित पक्ष, त्यस क्षेत्रका सङ्घीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहबरमा निर्णय भएपछि आयोजनाको काम सुरु भएको हो ।
नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले सुरुङ मार्ग क्षेत्रका स्थानीयहरूका माग र त्यहाँ उत्पन्न समस्याबारे एक हप्ताभित्र प्रतिवेदन पेस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल बाट भएको निर्देशनबमोजिम निर्धारित समयमा नै प्रतिवेदन बुझाइसकेको जानकारी दिए । सो प्रतिवेदनको कार्यान्वयन स्वरूप नै स्थानीयसँग सहमति भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।
प्रधानमन्त्री दाहालले भदौ १६ गते चन्द्रगिरिमा आयोजित एक कार्यक्रमबाट सुरुङ मार्ग आयोजना प्रमुखलाई त्यहाँको समस्याबारे एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।