काठमाडौं । पछिल्लो समय बढ्दो विद्युतीय गाडीको प्रयोग र नियमित विजुलीका कारण पेट्रोलियम पद्धार्थको खपत कम भएको आकलनकाबीच एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९—८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८—७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो । त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको थियो । आर्थिक वर्ष २०७९र८० मा मुलुकमा देखापरेको आर्थिक सङ्कटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पेट्रोलियम पदार्थको आयातमा कमी भएको हो ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए । विकास निर्माणका काम कम हुनु, विद्युतीय गाडीको प्रयोग बढ्दै गएको र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो हुँदा गएको आर्थिक वर्षमा आयातमा कमी भएको उनको भनाई छ ।
हवाई इन्धनको आयात बढे पनि अन्य सबै पेट्रोलियम पदार्थको आयातमा कमी आएको उनको भनाई छ । निगमका अनुसार गत आर्थिक वर्षमा डिजेल आयात १९।४६ प्रतिशतले घटेर १४ लाख सात हजार १७१ किलोलिटर आयात भएको छ । यस्तै पेट्रोलको आयात ७.७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्याङ्क छ । मटितेल आयात २४.६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ ।
यस्तै खाना पकाउने एलपिजी ग्यास भने ५।३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्याङ्क छ । हवाई इन्धनको आयात भने नौ प्रतिशतले बढेर एक लाख ७३ हजार ३६८ किलोलिटर भएको छ ।
गएको आर्थिक वर्षमा विमानको नियमित उडान भएपछि हवाई इन्धनको खपत बढेसँगै आयातमा समेत वृद्धि भएको हो । एक वर्षमा पेट्रोलियम पदार्थ आयात गरेर ९४ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा दुई खर्ब ८१ अर्ब ७३ करोड रुपियाँको २७ लाख २७ लाख ८२ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेर ९३ अर्ब ९४ करोड राजस्व सङ्कलन भएको निगमले जनाएको छ । अघिल्लो वर्ष एक खर्ब २४ अर्ब २५ करोड रुपियाँ राजस्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात कम हुँदा राजस्व सङ्कलनमा कमी आएको निगमले जनाएको छ ।
पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्कबापत २५ रुपियाँ २३ पैसा सङ्कलन गर्ने गरेको छ । त्यस्तै सडक मर्मतसम्भार शुल्कका नाममा चार रुपियाँ, प्रदूषण शुल्क एक रुपियाँ २५ पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर २० रुपियाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपियाँ ८० पैसा उठाउने गरेको छ । यस्तै डिजलमा भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपियाँ सडक मर्मतसम्भार दुई रुपियाँ, प्रदूषण कर एक रुपियाँ ५० पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर १८ रुपियाँ ७५ पैसा र मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६३ पैसा उठाउने गर्छ ।
निगमका अनुसार हाल बजारमा मासिक पेट्रोल ५६ हजार ४२६ किलोलिटर, डिजेल एक लाख १७ हजार २६४ किलोलिटर, मटितेल एक हजार ८३ किलोलिटर, हवाई इन्धन १४ हजार ४४७ किलोलिटर र खाना पकाउने एलपी ग्यास ४२ हजार ६८१ मेट्रिक टन खपत हुने गरेको छ । निगमका अनुसार आव २०७७÷७८ मा एक खर्ब ५८ अर्ब रुपियाँ बराबरको २८ लाख ६६ हजार किलोलिटर आयात भएको थियो । यस्तै आर्थिक वर्ष २०७६र७७ मा एक खर्ब ४५ अर्ब रुपियाँको २५ लाख ९० हजार किलोलिटर इन्धन आयात भएको थियो । यस्तै आव २०७५र७६ मा एक खर्ब ९२ अर्ब रुपियाँ बराबरको २९ लाख ३८ हजार किलोलिटर इन्धन आयात भएको थियो ।