एजेन्सी । ई-कमर्स जायन्ट अमेजनले आर्टिफिसियल इन्टेलिजेन्स फार्म एन्थ्रोपिकमा ४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्ट, गुगलजस्ता कम्पनीले एआईमा आक्रामक पहल गरिरहेको बेला अमेजन पनि यस प्रतिस्पर्धामा जोडिन आइपुगेको हो ।
सो लगानीसँगै एन्थ्रोपिकमा अमेजनको थोरै स्वामित्व कायम हुने भएपछि अब अमेजनका कर्मचारी र क्लाउड कस्टमरहरूले एन्थ्रोपिकका प्रविधिमा पहुँच प्राप्त गर्नेछन् ।
च्याटजीपीटी निर्माता ओपेनएआईका पूर्वअनुसन्धान अधिकारीहरूले करिब दुई वर्षअघि स्थापना गरेको एन्थ्रोपिकले हालै क्लाउड २ नामक एआई च्याटबट सार्वजनिक गरेको थियो । अमेजन र एन्थ्रोपिकले विकसित किसिमको जेनेरेटिभ एआई निर्माणमा रणनीतिक सहकार्य गर्ने जानकारी दिएका छन् ।
अमेजन वेस सर्भिसेज (एडब्लुएस)लाई आफ्नो प्रमुख क्लाउड सेवा प्रदायकका रूपमा प्रयोग गर्नेहरूलाई आवश्यकताबमोजिम एन्थ्रोपिकले आफ्ना पृथक फिचरहरू उपलब्ध गराउने जनाएको छ । एन्थ्रोपिकले आफ्ना एआई एप्लिकेसनहरूको फाउन्डेसन मोडल तयार गर्दा एडब्लुएसका लागि डिजाइन गरिएको विशेष सेमिकन्डक्टर प्रयोग गर्नेछ । फाउन्डेसन मोडल भनेका ठूला एआई प्रोग्रामहरू जसलाई बृहत् मात्राको डाटामा प्रशिक्षित गरिन्छ ।