काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९-०८० मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ । ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी संघीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी छन् ।
त्यसपछि भूमि व्यवस्था मन्त्रालयका छन् । प्रवक्ता दाहालले ३६ प्रतिशत मुद्दा संघीय मामिलाका रहेको जानकारी दिए । एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
१६२ मध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभ वा हानिसम्बन्धी छन् । त्यस्तै ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन् । सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा छन् । भ्रष्टाचार मुद्धा लागेका ७६६ मध्ये एक जना विशिष्ट श्रेणी, २१४ जना अधिकृतस्तर, १४४ जना छन् । त्यस्तै निर्वाचित र मनोनीत २०९ जना र मतियार १९८ जना छन् ।