नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७०शिखर) सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्दै छन् ।
जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा भारतलाई निमन्त्रणा गरिएको छ । सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, जर्मनी, इटाली, जापान र फ्रान्सका साथै युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले भाग लिनेछन् ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले प्रधानमन्त्री मोदीलाई जी–७ शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेका थिए ।
यो सहभागिता जी–७ शिखर सम्मेलनमा भारतको ११औँ र जी–७ शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीको लगातार पाँचौँ सहभागिता हुनेछ ।
शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले जी–७ र आमन्त्रित राष्ट्र साथै अन्तर्राष्ट्रिय संस्थाका नेतासँग द्विपक्षीय बैठक र छलफल गर्ने अपेक्षा गरिएको छ ।
विदेशसचिव क्वात्राका अनुसार प्रधानमन्त्री मोदीले आफ्ना इटालियाली समकक्षी जर्जिया मेलोनीसँग पनि द्विपक्षीय बैठक गर्ने अपेक्षा गरिएको छ ।
एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै विदेश सचिव विनय क्वात्राले लगातार तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्री मोदीको यो पहिलो विदेश भ्रमण भएकाले महत्त्वपूर्ण रहेको बताए ।
क्वात्राका अनुसार जी–७ शिखर सम्मेलनमा विशेषत आर्टिफिसियल इन्टेलिजेन्स, ऊर्जा, अफ्रिका र भूमध्यसागरको अवस्थाबारे छलफल गरिनेछ ।
जनवरी १ मा इटालीले सातौँ पटक जी–७ को अध्यक्षता ग्रहण गरेको थियो । राष्ट्रहरू अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत जी–७ सदस्य राष्ट्र हुन् ।
सात सदस्य राष्ट्रका नेताहरू, साथै युरोपेली परिषद्का अध्यक्ष र युरोपेली सङ्घको प्रतिनिधित्व गर्ने युरोपेली आयोगका अध्यक्षले जी–७ शिखर सम्मेलनमा भाग लिनेछन्।
भारत, टर्की र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसहित धेरै राज्यहरूलाई पनि इटालीले जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेको छ ।