काठमाडौं । नेपालमा उत्पादित बिजुली बेच्ने मुख्य एजेण्डा लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो १ बजे आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएका छन् । ४ दिने भारत भ्रमणका क्रममा ऊर्जासँग सम्बन्धित आधा दर्जन सम्झौता गर्ने तयारी छ भने वाणिज्यलगायतका विषयमा पनि दर्जनको हाराहारीमा सम्झौता हुने कार्यक्रम छ ।
त्यसका लागि तयारी पूरा भइसकेको छ । नेपाल सरकारका तर्फबाट भारत सरकारसँग गर्ने सम्झौताका लागि ठोस प्रस्तावको ड्राफ्ट तयार भइसकेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमण नेपालमा उत्पादन भएको बिजुली बेच्ने रहेको बताएका छन् ।
प्रधानमन्त्रीको भ्रमण नेपालमा उत्पादन भएको बिजुली भारतमा कसरी बेच्न सकिन्छ भन्नेमै केन्द्रित भएको ऊर्जा, परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।
प्रधानमन्त्रीको भारत भ्रमण ऊर्जा क्षेत्रका लागि ब्रेक थ्रु हुनेछ । सरकारले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा २५ वर्षका लागि बिजुली बेच्ने सम्झौताको ड्राफ्ट बनाइएको छ । यो सम्झौताबाट १० हजार मेगावाटसम्म बिजुली निर्वाधरुपमा भारतमा बेच्ने बाटो खोल्नेछ ।
नेपाल विद्युत प्राधिकरणले पटक पटक बिजुली बेच्न गरेको प्रस्तावलाई भारतीय पक्षले खासै चासो नदिइरहेको अवस्थामा प्रधानमन्त्रीस्तरीय सम्झौताबाट यसलाई टुंगोमा पुर्याउन खोजिएको छ ।
त्यसैगरी, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गर्ने, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत आयोजनाको द्विपक्षीय सम्झौता हुँदैछ ।
त्यस्तै, ४०० केभी क्षमताको १२० किलोमिटर लामो बुटवल९गोरखपुर प्रशारणलाइनको स्वीच थिचेर शिलान्यास हुँदैछ।
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा भ्रमणका क्रममा सम्झौता तथा छलफल हुनछ ।
सन् २०१९ को डिसेम्बर अन्तिममा समाप्त भएको पारवहन सन्धी नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुँदैछ ।
यस्तै सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्याङ्क निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्याङ्क निर्माणका बारेमा सहमति हुने बताइएको छ ।
भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने, नेपालगञ्ज र बिराटनगरमा एकीकृत भन्सार चौकीको दुबै देशका प्रधनमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुक्खा बन्दरगाह निर्माण गर्ने सम्झौता हुँदैछ । जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा पनि कुरा हुने बताइएको छ।
त्यसैगरी, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्वतमान अध्यक्ष शेखर गोल्छाका ऊर्जासँग सम्बन्धीत सम्झौता हुने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणटोलीमा मन्त्री, सचिव, सुरक्षाकर्मी, व्यवसायी र पत्रकार गरी १५० जनाको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।