काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक रूपान्तरणका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार बुटवल उद्योग वाणिज्य संघको ७०औं साधारणसभा तथा २५ औं अधिवेशनमा बोल्दै अध्यक्ष ढकालले सरकारसहित संघसंस्था तथा वित्तीय संस्था मिलेर आर्थिक समस्या समाधान गर्न सकिने बताएका हुन् । निजी क्षेत्रले सरकार तथा सम्बन्धित निकायलाई पटकपटक यो अवस्था आउन सक्छ भन्ने सुझाव दिँदादिँदै सरकारले गरेको बेवास्ताले यो अवस्था आएको उनले बताए ।
ढकालले सरकारले ल्याएको आर्थिक नीति, राष्ट्र बैंकको नीति एवं उद्योगी-व्यवसायीको हकहितको विषयमा गम्भीर रूपमा छलफल नगरेमा देशको स्थिति थप खस्किने निश्चित रहेको जनाए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष किशोर प्रधानले व्यवसायीको समस्या समाधानका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने बताए । उनले महासंघ जस्तो संस्थाले व्यक्तिवादी नभई संस्थागत निर्णयले सबैलाई समेट्नुपर्ने बताए ।
त्यस्तै, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अर्थतन्त्र ठीक अवस्थामा नहुनु नै व्यवसायीका लागि विडम्बनाको विषय भएको बताए । उनले असोज मसान्तमा ब्याज तिर्न नसकने व्यवसायीले आत्महत्या गर्ने कि भाग्ने भनेर सोचिरहेको विकराल स्थितिमा समेत राज्यका पदीय व्यक्तिले जनता जोगाउन चासो नदिएको बताए ।