काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । प्रहरीले आइतबार काठमाडौंबाट उनलाई पक्राउ गरेको हो ।
गृहमन्त्री रमेश लेखकले आइतबार सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन् ।
प्रहरी उच्च स्रोतका अनुसार जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो । उनीहरु पक्राउ परेसँगै तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई समेत प्रहरीले निगरानीमा राखेको छ । उच्च प्रहरी स्रोतले भन्यो, “जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर समातिएको हो । उनी भाग्ने योजना बनाएको सूचना पाएपछि पक्राउ गरेका हौँ ।”
अर्घाखाँचीका जोशी पूर्वडीआईजी समेत हुन् । ५९ वर्षका जोशीलाई गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगेको र हिनामिना गरेको आरोप लागेको छ । उनीमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलको सदस्य भइ रकम गोर्खा मिडियामा ल्याएको देखिएको संसदीय छानबिन विशेष समितिले गरेको अनुसन्धानले देखाएको थियो ।
सहकारी संस्था बचत दुरुपयोग सम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदनका आधारमा उनी पक्राउ परेका हुन् । समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन भदौ ३१ मा समितिले संसद्लाई बुझाएको थियो ।
सोही प्रतिवेदन गृहमन्त्रालयले आइतबार मात्रै प्रहरीलाई कार्यान्यनका लागि पठाएको थियो ।