काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।
क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो ।
प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ नेपाली खेलाडी घोषित भएमा उक्त खेलाडीले यो विशेष सम्मान पाउने छन् । विदेशी खेलाडी ‘प्लेयर अफ द सिरिज’ भएमा चाहिँ कार बाहेक अन्य पुरस्कार पाउने छन् र उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले कार पाउने छन् ।
त्यसैगरी अटोमोबाइल ब्रान्ड ओमोडा एन्ड जेइकोले लिगमा सहप्रायोजन गर्ने भएको छ । क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो । क्यानका सचिव र क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।